Shittalpati
चाडपर्वको मुखमा अचाक्ली महँगी

पाल्पा, नेपालीहरुको महानपर्व दसैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ । दसैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, लत्ताकपडा र जुत्ता चप्पलको मूल्य अत्याधिक बढेको हो । बजारमा दसैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दसैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् । उपभोग्य वस्तुको बजार मूल्य आकासिए पनि अनुगमन गरी बजारलाई नियमन गर्नेतर्फ सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न सकेका छैन । जसको मारमा आम उपभोक्ता परेका छन् । दुई/तीन महिना अघि २ सय ४० मा पाइने रहरको दाल अहिले ३ सय १० रुपैयाँ पुगेको छ ।

यस्तै, प्रायः दसैंमा बढी खपत हुने चिउरा पनि बढेर प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ । यसअघि प्रतिकेजी २ सय ३० रुपैयाँमा पाइने राजमा २ सय ९० रुपैयाँ पुगेको छ । प्रति किलोको १ सय २० रुपैयाँमा पाइने चनाको मूल्य हाल १ सय ८० रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै तरकारीमा १९ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भइसकेको छ । त्यस यता बाढी पहिरोले मुख्य राजमार्ग अवरुद्ध हुँदा तरकारी र फलफूलको मूल्य छोइनसक्नु छ । खाद्यान्न मात्र होइन होटल तथा रेष्टुरेन्टका सामग्री, मरमसला, कपडा, भाडा वर्तन, विद्युतीय सामग्री लगायतका हरेक वस्तुको मूल्य बढेको छ । आम्दानीभन्दा खर्चको भार बढ्दा सर्वसाधारणको दैनिकीमै असर परेको छ । दसैं र चाडबाडको मुखमा भएको चर्को महँगीको मारमा सर्वसाधारण छन् । तानसेन– कैलाशनगरकी मीना खत्रीले चिनी, दाल, कपडा सबैको मूल्य बढ्दा आफु जस्ता सामन्य आए भएकाहरु मारमा परेको बताइन् । उनले भनिन् ‘साउनदेखि यता मूल्य एकदमै बढेको छ । सबै खाद्यन्नको मूल्य बढ्दा गाह्रो भएको छ । आयआर्जन छैन ।’ लत्ताकपडा पनि महँगो उस्तै छ । दसैँका लागि भनेर तानसेन तेस्रो सडकमा कपडा किन्न पुगेकी पाल्पा रिब्दीकोटकी सरस्वती कार्कीले अघिल्लो वर्ष तीन हजारमा किनेको कुर्तासुरुवाल अहिले ५ हजार पर्दा छक्क परिन् । उनले भनिन् ‘अघिल्लो वर्ष दसैँमा १५ सयमा पनि कुर्ता सुरुवाल नबिकेर व्यापारीहरु को आउला भनेर हेरेर बसेका हुन्थे । अहिले त दसैँको मुखमा ५ हजार भन्छन् ।’ मूल्य वृद्धिले दसैँ, तिहार कसरी मनाउने भनेर उपभोक्ता चिन्तित छन् । सरकारले प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता समस्यामा परेका हुन् । दसैं, तिहार, छठ जस्ता पर्वमा खाद्यान्नदेखि विलासितका वस्तु बढी खपत हुन्छन् । यही मौका छोपेर कतिपय व्यापारी र व्यवसायीले कृत्रिम मूल्य तोक्ने गर्छन् । त्यसको मारमा सर्वसाधारण पर्छन् । सरकारले बजार अनुगमन जारी राखे पनि मूल्यवृद्धि भने घटेको छैन् ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update