पुष्कर अथक रेग्मी
चकोर मान शाक्य सबैको चिरपरिचित नाम हो । प्रजातन्त्रवादी नेता, समाजसेवी, उद्यमी व्यापारी एवं सहयोगीको रुपमा प्रतिष्ठापित उहाँ आज हामीहरु माझ हुनुहुन्न । जीवनभर पाल्पा तानसेनको राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य एवं वाणिज्य लगायतका विविध क्षेत्रको विकास र विस्तारमा नेतृत्वदायी एवं समन्यवकारी भूमिका निर्वाह गर्दै गत जेष्ठ १० गते शनिबारका दिन विहान ७८ वर्षको उमेरमा उहाँ ब्रह्मलीन भएर जानुभयो । फोक्सोमा अर्वुद रोगको स्वास्थ्य उपचारको क्रममा हरिसिद्वि अस्पताल काठमाडौंमा उहाँको निधन भएपछि पार्थीव शरीरलाई पाल्पा ल्याइयो ।
कोभिड नाइन्टिन कोरोना भाइरसको त्रासदीका कारण सबै जना करीब दुई महिना अघिदेखिनै सामाजिक दुरी कायम गर्दै घरैमा बसेता पनि चकोरमान शाक्यको पार्थीव शरीरलाई नेपाली काँग्रेसको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिन, उहाँ आवद्ध संघसंस्थाहरु गुठियार एवं आफन्तजनहरुबाट अन्तिम श्रद्धाञ्जली दिन उहाँको घरदेखि टुँडिखेलसम्म नेपाली काँग्रेस लगायत विभिन्न पार्टीका नेता तथा प्रतिनिधिहरु विभिन्न सरकारी एवं गैरसरकारी, सामाजिक, शैक्षिक, धार्मिक, स्वास्थ्य, सहकारी, पाल्पा उद्योग वाणिज्य संघ लगायत परिवाजन, आफन्त एवं शुभचिन्तकहरु गरी हजारौं मानिसहरुको लाम लागेको थियो । विषम परिस्थितिको बावजूद पनि जनसागर उर्लेर उहाँको अन्तिम विदाई गर्नु भनेको उहाँले जीवनभर कमाएको सामाजिक सम्पत्ति हो ।
यस्तो सम्मान सहितको विदाई पाउनु चकोरमान शाक्यको योगदानको प्रतिफल हो । बौद्ध धर्म संस्कृति अनुसार उहाँको पार्थीव शरीरको दाहसंस्कार ११ जेष्ठका दिन पवित्र तीर्थस्थल रामनदी धाममा गरियो । उहाँको निधनप्रति दुःखित हुँदै बालसखा तिलकमान महर्जन भन्नुहुन्छ– ‘ऊ, म, कृष्ण र मंगल हामी चार जना बालसखा थियौ । पाल्पा तानसेनमा धैरै नै राम्रो काम गरेर ऊ गयो ।’ यसरी नै दुःखित हुँदै मंगल प्रसाद बज्राचार्य भन्नुहुन्छ– ‘ऊ चकोर जस्तै चम्किलो थियो । उस्को पहुँच सानो ठूलो सबैसँग थियो । उस्ले सबैको दिल जित्थ्यो ।’ चकोरमान शाक्यले गरेका कामहरु सम्झदै बालसखा कृष्णप्रसाद शाक्य भन्नुहुन्छ ‘उसमा निर्णय शक्ति थियो ।
तानसेन ३ बुथ समितद्वारा सम्मानित हुँदै ।
दुःखमा नआत्तिने सुखमा नमात्तिने स्वभाव उस्को थियो । उस्को निधनले पाल्पा तानसेनको एउटा जिउँदो इतिहासको अन्त्य भएको छ ।’ लुम्बिनी अञ्चल पाल्पा जिल्ला तानसेन टक्सारटोल निवासी पिता स्व. पूर्णमान शाक्य र माता स्व. मानलक्ष्मी शाक्यका सुपुत्र चकोरमान शाक्यको जन्म वि.स. १९९९ साल श्रावण १९ गतेका दिन भएको हो । प्रजातन्त्रका सेनानी पूर्णमान शाक्यको दुई सुपुत्र र दुई सुपुत्री मध्ये चकोरमान शाक्य जेष्ठ सुपुत्र हुन् । राणा शासनको अन्त्यका लागि पिता पूर्णमान शाक्यले निर्वाह गर्नुभएको राजनैतिक गतिविधिहरुको प्रभाव बाल्यवस्थादेखिनै चकोरमान शाक्यमा पर्न गयो र महामानव वी.पी. कोइरालाको विचारबाट प्रभावित भई नेपाली काँग्रेसको अभियानमा जीवनभर लाग्नुभयो ब। जरैदेखि लागेका थिए । हल्लाउनु पर्दछ भनी काँग्रेसी नेता एवं कार्यकर्ताहरु भित्रभित्रै देखि लागेका थिए । वि.स. २०३६ सालको जनमत संग्रहमा पिता पूर्णमान शाक्यसँगै चकोरमान शाक्य अग्रपंक्ति मै खुलेर लाग्नुभयो ।
पाल्पामा प्रजातन्त्रवादीहरुले बहुदललाई शानदार तरिकाले जिताएता पनि मुलुकमा भने सुधारिएको पञ्चायती व्यवस्थाले नै विजय हासिल गर्यो । २०३८ सालमा भएको नगर पञ्चायतको निर्वाचनमा प्रजातन्त्रवादीहरुले जनपक्षीय उम्मेदवार चकोरमान शाक्य तत्कालीन तानसेन वडा नं. ५ को वडा अध्यक्षमा निर्वाचित हुनुभयो । पञ्चायती भित्र उदारवादी र कट्टर पञ्च गरी दुईखेमामा पञ्चहरु थिए । यस्तो परिस्थितिमा चकोरमान शाक्यले प्रजातन्त्रवादीहरुको तर्फबाट बहुदलिय व्यवस्थाको आवश्यकता प्रति खुलेरै विचार राख्नुहुन्थ्यो । वि.सं. २०४३ सालमा सम्पन्न हुन लागेको स्थानीय पञ्चायतको चुनावमा नेपाली काँग्रेसको गैंडाकोट सम्मेलनले नगर तथा गाउँपञ्चायतहरुको आउट पोष्ट कब्जा गर्न रणनीति लिएको थियो । यही क्रममा नेपाली काँग्रेसका शीर्षत्रय नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरीजा प्रसाद कोइरालासँगको परामर्श अनुसार प्रतिवन्धित नेपाली काँग्रेसको तर्फबाट चकोरमान शाक्यलाई प्रधान पञ्चको उम्मेदवार बनाइयो । तत्कालीन समयमा प्रतिबन्धित नेपाली काँग्रेसको तर्फबाट चकोरमान शाक्यले उम्मेदवारी दिएर नेपाली काँग्रेसको संगठनात्मक विकासका लागि ठूलो जोखिम उठाई बहादुरीका साथ सञ्चालन गर्नुभएको थियो ।
स्व.चकोरमान शाक्यको पार्थीव शरीर ।
स्वर्गीय चकोरमान शाक्यलाई स्मरण गर्दै नेपाली काँग्रेस पाल्पाका अगुवानेता राजेन्द्र गोपाल सिंह भन्नुहुन्छ– ‘पञ्चायतकालमा पञ्चहरुसँग लड्दै र भिड्दै नेपाली काँग्रेसको संस्थागत विकास र बहुदलिय व्यवस्थाको वकालत गर्दै निरन्तर लागिरहनुभयो । प्रजातन्त्रको प्राप्ति पछि पनि उहाँ निःस्वार्थ रुपमा नेपाली काँग्रेसको संस्थागत सुदृढिकरणमा निरन्तर लाग्नुभयो । व्यक्तिगत रुपमा उहाँलाई केही नमिले पनि उहाँ सदैव पार्टी संगठन राम्रो भएको देख्न चाहनुहुन्थ्यो ।’ वि.सं. २०५० सालदेखि २०७२ सालसम्म नेपाली काँग्रेस पाल्पा तानसेन नगर कमिटीको सभापतिको रुपमा रही काम गर्नुका साथै पार्टीका विभिन्न जिम्मेवारीहरु वहन गर्नुभयो । शाक्य नेपाली काँग्रेस पाल्पाका अगुवा नेता हुनुका साथै नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल ट्रेड यूनियन काँग्रेस लगायतका पार्टीका भातृ एवं शुभेच्छुक संस्थाहरुको समेत अभिभावक हुनुहुन्थ्यो । उहाँको घर पिताको पालादेखिनै प्रजातन्त्रवादीहरुको सुखदुःख बाड्ने, सरसल्लाह गर्ने स्थलको रुपमा रहेको थियो । घरमा राजनैतिक जमघट भएको बेला होस् या समय साक्षेप सामाजिक भेला भएको बेला होस् ।
यस्तो समयमा उहाँको माता, श्रीमति, दिदीबहिनी, छोरा, बुहारीहरुले पाहुनाहरुको स्वागत सम्मान गर्नु, खाजा खाना खुवाउन र वास बसाउनमा समेत सहयोग पुर्याउनु भएको छ । यस घरमा महिलाहरु सबैले नेपाली काँग्रेसको संस्थागत विकास र सामाजिक जागरणमा सहयोग पु¥याउनु भएको छ । ‘केही वर्ष अघि मात्र भाई अशोकमान शाक्य गुमाउनु भएको थियो । एक वर्ष पनि भएको छैन पुत्र प्रियदर्शन शाक्यलाई अकालैमा गुमाउनु भएका चकोर काका जेष्ठ जीवनमा पुत्र वियोगमा पर्नुभयो । आफै रोगले ग्रसित हुनुभयो र हामीलाई आकस्मिक रुपमा छोडेर जानुभयो । बौद्ध धर्म संस्कृति लगायत सामाजिक क्षेत्रमा ठूलो क्षति पुग्यो‘ भनी महाचैत्य विहार ज्ञानमाला सभाका अध्यक्ष बुद्धरत्न शाक्यले दुःख व्यक्त गरेका छन् । चकोरमान महाचैत्य विहार ज्ञानमाला सभाका पूर्व अध्यक्ष, सल्लाहकार र विभिन्न बौद्ध विहार एवं समूहहरुका सदस्य, सल्लाहकार एवं. अभिभावक हुनुहुन्थ्यो ।
केन्द्रीय नेताहरूलाई पाल्पामा स्वागत गर्दै ।
उहाँ नेपाल नेत्र ज्योति संघ, पाल्पा लाकौल लायन्स आँखा अस्पतालका अध्यक्ष, प्रदेश सदस्य, केन्द्रीय सदस्य र पाल्पा शाखाका पूर्व कार्यसमिति सदस्य एवं. सल्लाहकार हुनुहुन्थ्यो । नेपाल क्षयरोग निवारण संस्था पाल्पा, विभिन्न सहकारी संस्थाहरुमा आवद्ध रहनुका साथै विभिन्न संस्था, विद्यालय र शिक्षालयहरुमा अक्षयकोषदाताको रुपमा समेत रहनुभएको थियो । स्वर्गीय चकोरमान शाक्यको क्षमताको स्मरण गर्दै सेन माध्यमिक विद्यालय तानसेनका पूर्व प्र.अ. शिक्षाविद एवं. छिमेकी दिल बहादुर शाक्य भन्नुहुन्छ–‘चकोर दाई नेतृत्व क्षमतावान भएको व्यक्तित्व हुनुहुन्थ्यो । छिमेकमा कसैलाई केही परे पनि सबैले चकोर दाइले के भन्नुहुन्छ भनी सोध्थ्यौ । पि.टि.आई. स्थापना गरेर उहाँले पाल्पामा प्राविधिक शिक्षाको जग बसाउनु भएको हो । उहाँको स्वर्गारोहणले पाल्पा तानसेनको राजनीति, सामाजिक, धार्मिक र शैक्षिक क्षेत्रमा अपूरणीय क्षति भएको छ ।’ पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका स्वर्गीय शाक्यलाई सम्झेरै पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मधुदयाल सैजु भन्नुहुन्छ–‘उहाँ पाल्पाको उद्यमी व्यवसायीका साथै पाल्पालाई राष्ट्रियस्तरमै चिनाउने प्रतिष्ठित व्यवसायी हुनुहुन्थ्यो । उहाँकै पाल्पामा पालामा उद्योग वाणिज्य संघले केन्द्रबाट ‘क’ वर्गको संघको मान्यता प्राप्त गर्यो ।
उहाँको कार्यकालमा पाल्पामी उद्यमी व्यवसायीहरुको अत्यन्त उर्वरकालको रुपमा रह्यो ।’ चकोरमानाक्यले आफूले लिएको जिम्मेवारी पूरा गर्न गराउन सक्ने खुबी थियो । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको विज्ञान संकायलाई व्यवस्थित गर्न, पाल्पाबाट गुमिसकेको सरकारी अस्पताललाई सुधार सहित पाल्पामै राख्न, पाल्पा लाकौल लायन्स आँखा अस्पताललाई वर्तमान स्वरुपमा ल्याउन, तानसेन खानेपानीको वितरण व्यवस्थापनलाई प्रभावकारी बनाउनमा उहाँकै अविस्मरणीय योगदान रहेको छ ।
गिरिजाप्रसाद कोइरालासँग ।
उहाँ तानसेन खानेपानी उपभोक्ता समितिको अध्यक्ष भएपश्चात तानसेनमा खानेपानी वितरण र व्यवस्थापनमा प्रभावकारिता आएको हो । भुल्के, सिस्नेमूल, कालीगण्डकी प्रोजेक्टबाट पानीको आपूर्ति मिलाउनमा उहाँ अहोरात्र खटिनुभयो । विभिन्न राजनैतिक दलहरु बचि बस्ने सर्वदलिय संयन्त्रहरुमा उहाँको प्रतिनिधित्व रहेको बखतमा उहाँ एक्लै परेता पनि शुरुमा केही नबोल्ने र अन्तमा नेपाली काँग्रेसको निर्णय नै पारित गराएर आउन सक्ने खुवी उहाँमा थियो । पार्टी एवं उहाँ आवद्ध संघ संस्थाहरु र शुभेच्छुकहरुले समेत चकोर दाईले के भन्नुहुन्छ भनी निर्णयको पर्खाईमा बस्दथे । पाल्पाको ऐतिहासिक सम्पदा जोगाउनुपर्छ । पुरानो तानसेनलाई बचाउँदै नयाँ तानसेनको विस्तार गर्नुपर्दछ । आर्थिक, सामाजिक, शैक्षिक एवं आध्यामिक जागरण ल्याउनुपर्दछ भन्ने मान्यता उहाँमा रहेको थियो ।
अठहत्तर वर्षको जेष्ठ जीवनमा पनि उहाँ तन्नेरी युवाले जस्तै सम्बन्धित क्षेत्रमा पुगेर कार्यसम्पादन गर्नुहुन्थ्यो । कसैलाई कहिल्यै पिर्न नचाहने उहाँ सबैको प्रियपात्र हुनुहुन्थ्यो । निरन्तर राजनीति, समाजसेवा, आध्यात्मिक सेवा, स्वयंसेवा र उद्यमी व्यवसायी एवं उपभोक्ताहरुको हकहितको पक्षमा काम गर्दागर्दै असमायिक एवं अकल्पनीय रुपमा उहाँले यस धर्तिबाट आफ्नो नश्वर देहत्याग गर्नुभयो ।
पत्नी विमला शाक्य, पुत्री संन्धा शाक्य, बुहारी, नातिनीहरु, दिदीबहिनी, भतिजीहरु, ज्वाई, भाञ्जाभाञ्जी, आफन्तजन, छिमेकी, शुभचिन्तक, इष्टमित्र एवं. समस्त पाल्पा तानसेनवासीलाई शोकाकूल बनाएर परमात्मामा विलिन भएर जानुभयो । चकोर दाईले बिरामी हुनुपूर्व यस पंक्तिकारलाई आफ्नो आत्मवृतान्त लेख्ने धोको रहेको कुरा बताउनुभयो । म उहाँको कुरामा सहमत भए ।
सर्वमान्य नेता गणेशमान सिंहका साथ ।
मैले यसरी लेखौं भनेर केही खाका तयार पारी दिए । त्यसपछि उहाँ विरामी हुनुभयो र अन्ततः सदाको लागि सबैलाई छोडेर जानुभयो । उहाँको आत्मवृतान्त लेख्ने धोको अधुरै रहन गयो । मरणोपरान्न भएपनि उहाँको जीवनी लेख्न सकिन्छ । स्मृति ग्रन्थ प्रकाशन गर्न सकिन्छ । यस्का लागि शाक्य परिवारजनहरुबाट पहलकदमी अवश्य नै हुने छ । आज अगुवा राजनीतिज्ञ, नेपाली काँग्रेस पाल्पाका धरोहर, समाजसेवी, शिक्षाप्रेमी, स्वास्थ्य सुरक्षा प्रेमी, स्वयंसेवी, आध्यात्मिक चिन्तक, उद्यमी व्यवसायीका अंग्रज, तानसेनको घरघरमा खानेपानी पुर्याउनुपर्छ भन्ने सोंचका सूत्रधार, स्थानीयदेखि केन्द्रीयस्तरसम्मको कार्यमा पहुँचवाला व्यक्तित्व, सबैका शुभचिन्तक, अभिभावक, अथक कर्मयोगी चकोरमान शाक्य हामीहरु बीच हुनुहुन्न ।
अब उहाँ हामीहरु माझ संझनामा मात्र रहनुभएको छ । फलको आशा नगरी निष्ठापूर्वक सुकर्म गर्ने अविक्षान्त कर्मयोगी, नीडर, स्पष्ट वक्ता, इमान्दार, सिद्धान्तनिष्ठ, सद्चरित्रवान, गुणग्राही, परोपकारी एवं सामाजिक सेवामा प्रतिष्ठापित व्यक्तित्वको रुपमा चकोरमान शाक्य पाल्पा तानसेनको आकाशमा चम्किलो ताराको रुपमा रहिरहनु हुने छ । अलविदा चकोर दाई १ सुखावती भुवनमा वास होस् ।
(लेखक, तानसेन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा नेपाली काँग्रेस तानसेन ३ बुथका सभापति समेत हुन् ।)