Shittalpati
 योजनाहरु आवश्यकताका आधारमा निर्धारण गर्ने परिपाटीको विकास गर्छौं : अर्थमन्त्री कार्की 

गुल्मी,लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले हरेक विकास निर्माणका योजनाहरुलाई आवश्यकताका आधारमा निर्धारण गर्ने परिपाटीको विकास गर्ने बताएका छन् । नेपाली काँग्रेस कालीगण्डकी गाउँ कार्यसमिति गुल्मीको आयोजनामा भएको बधाई तथा सम्मान कार्यक्रमलाई कालीगण्डकीको कनौटोमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
मन्त्री कार्कीले पहुुँचको आधारमा योजना निर्धारण हुने गरेको भन्ने व्यापक गुनासो आउने गरेकाले त्यसको अन्त्य गर्दै आवश्यकताका आधारमा निर्धारण गर्ने परिपाटीको विकास गर्ने गरी प्रदेश सरकार अगाडि बढेको उल्लेख गरे । उनले भने ‘प्रदेश सरकारका हरेक योजनाहरु झस्केलाबाट आउने गरेको गुनासो सर्वत्र छ । यसलाई अन्त्य गर्दै हामी आवश्यकताका आधारमा निर्धारण गर्ने पारिपार्टीको विकासमा लागेका छौं ।’ मन्त्री कार्कीले जिल्लाको सुदुरपुर्व कालीगण्डकी गाउँपालिका भित्रका हरेक विकासका योजनालाई प्राथमिकताका आधार छनौट  गर्न स्थानीय सरकारलाई समेत आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले बजेट अभावका कारण रोकिएका कामहरु सुचारु गर्ने तर्फ ध्यान दिन मन्त्री कार्की समक्ष आग्रह गरे । उनले भने ‘ जिल्लाका धेरै ठाउँहरुमा बजेट अभावका कारण योजनाहरु अलपत्र परेका छन् । ति योजनाहरुलाई छिटो भन्दा छिटो अगाडि बढाउन यहाँको कार्यकालमा पहल होस् ।’ विकास निर्माणका हरेक कार्यमा तीनै तहका सरकारलाई सघाउन आफ्नो पार्टी काँग्रेस सधैव तयार रहेको समेत सचिव भट्टराईले उल्लेख गरे । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका नेता बेदबहादुर थापाले दीगो विकासको अवधारणाका साथै स्थानीय उत्पादन र बजारीकरणको समस्या समाधानमा प्रदेश सरकारले पहल गरिदिनुपर्ने बताए ।

कार्यक्रममा काँग्रेसले मन्त्री कार्कीलाई भव्य स्वागतसँगै सम्मान र बधाई दिएको छ । उनलाई नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई, नेपाली काँग्रेस कालीगण्डकी गाउँ कार्य समितिका सभापति निम श्रीस , गाउँपालिका अध्यक्ष बेदबहादुर थापा लगायतले प्रशंसापत्र तथा खादाले सम्मान गरेका थिए । समितिका सभापति श्रीसको सभापतित्व, सचिव ऋषि रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।


 

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update