Shittalpati
विश्व हात धुने र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइयो

पाल्पा, मंगलबार एकै दिन विश्व हात धुने र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस नेपालसहित विश्वभर मनाइएको छ । दुवै दिवस आफैमा महत्वपूर्ण रहेका छन् ।

हरेक वर्षको अक्टोबर १५ अर्थात् असोज २८ गते विश्व हात धुने दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम भएका छन् । रोगको संक्रमणबाट बच्न हात धुनु पर्ने सन्देश प्रवाह गर्न कार्यक्रम गरिएको थियो । हात धुँदा साबुनपानीले औंलाका काप/कापमा मिची/मिची कम्तीमा १५ सेकेन्डसम्म धुन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । हरेक व्यक्तिको दैनिक क्रियाकलाप र व्यवहारका क्रममा सरसफाइमा सावधानी नअपनाउँदा यस्तो समस्या बढ्ने भन्दै सरोकारवालाहरूले विद्यालय तहदेखि नै सचेतना अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । विभिन्न सर्वेक्षण र अध्ययनले, सरसफाइको क्षेत्रमा दक्षिण एसियामै नेपालको स्थिति नाजुक रहेको देखाएको छ । करिब ५६ प्रतिशत जनसंख्या व्यवस्थित शौचालयको सुविधाबाहिर छन् । शौचालयको सुविधा भएको परिवारले समेत राम्रोसँग साबुनपानीले हात नधुने गरेको अवस्थामा सुविधा बाहिरका परिवार विभिन्न पानीजन्य रोगको जोखिममा परेका छन् । सरुवा रोगको संक्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित सफासँग हात धुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाए पनि नेपालमा भने बजेटकै अभाव देखाउदै यो दिवस मनाउन छोडिएको छ ।

यस्तै विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइएको छ । नेपालमा ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै वि.सं. २०७० देखि यो दिवस मनाउन थालिएको हो । सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रुपमा यो दिवस मनाउने क्रम शुरु भएको पाइन्छ । घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने स्थानमा पुर्‍याउने पवित्र भावनाले यो दिवस मनाईन्छ । ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आयआर्जन मुलक काममा सहभागीता गराई गरिबी न्यूनिकरणमा टेवा पुर्‍याउनु यो दिवसको प्रमुख उद्देश्य रहेको छ । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनका लागि ग्रामीण महिलाहरुको महत्वपूर्ण भूमिका रहने गर्दछ । तर नेपाल जस्ता विकासोन्मूख देशहरुमा भने सम्पति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच भने पुग्न सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update