नयाँदिल्ली, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाएपछि भारत र क्यानाडाले कूटनीतिक संकटको सामना गरिरहेका छन् । भारतले भने क्यानाडाको आरोपलाई आधारहीन तथा ‘राजनीतिबाट प्रेरित’ भन्दै अस्वीकार गरेको छ । सन् २०२३ मा ब्रिटिस कोलम्बियामा खालिस्तानी आतङ्कवादी हरदीप सिंह निज्जरको हत्याको अनुसन्धानको सम्बन्धमा क्यानडाले सोमबार छ जना भारतीय कूटनीतिज्ञ तथा अधिकारीहरूलाई निष्कासन गरेको थियो ।
यसैगरी भारतले पनि भारतबाट क्यानाडाका कार्यवाहक उच्चायुक्त स्टेवार्ड रस ह्विलर, उपउच्चायुक्त प्याट्रिक हेबर्टलगायत छ जना क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय घोषणा गरेको छ ।
रोयल क्यानेडियन माउन्टेड प्रहरी आयुक्त माइक डुहेमले सोमबार भारत सरकारका एजेन्टहरूले गरेका केही आपराधिक गतिविधिका बारेमा जानकारी प्राप्त भएको दाबी गरेका छन् । उनले क्यानाडाका सम्बन्धित निकायले सफलतापूर्वक अनुसन्धान गरेको बताउँदै हत्या र हिंसाजन्य आपराधिक कार्यहरूमा उनीहरूको संलग्नता रहेको आरोप लगाए ।
सोमबारको विज्ञप्तिमा भारतले क्यानाडाको कूटनीतिक सञ्चारलाई अस्वीकार गर्दै भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञहरू अनुसन्धानमा ‘चासोका व्यक्तिहरू थिए’ यसलाई ‘निराधार आरोपहरू’ र तथा जस्टिन ट्रुडो सरकारको राजनीतिक एजेन्डाको हिस्सा भनेको छ । विदेश मन्त्रालय (एमइए) ले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको भारतप्रतिको शत्रुता लामो समयदेखि रहेको उल्लेख गर्दै क्यानाडा सरकारले आतङ्ककारीलाई ‘क्यानाडामा भारतीय कूटनीतिज्ञ तथा नेताहरूलाई उत्पीडन र धम्की दिने ठाउँ प्रदान गरेको’ जनाएको छ ।