Shittalpati
विश्व खाद्य दिवसको सन्दर्भ

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) स्थापना भएको सम्झनामा आज विश्वभर खाद्य दिवस मनाउँदैछ । विश्व खाद्य शिखर सम्मेलन– १९९६ ले संसारबाट भोकमरीलाई दिगो रूपमा हटाउन गरेको प्रतिवद्धतालाई सन् २००९ को नोभेम्बरमा आयोजित खाद्य सुरक्षासम्बन्धी विश्व सम्मेलन (जसलाई भोकमरी सम्मेलनका नामले पनि चिनिन्छ) ले पूर्णरूपमा सफल पार्न घोषणापत्र जारी गरेको थियो । सोही घोषणा अनुसार हरेक वर्ष १६ अक्टोवरमा यो दिवस मनाउँदै आइएको छ । सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको नेपालले २०३८ साल (सन् १९८१) देखि यो दिवस मनाउँदै आएको हो । नेपालले मनाएको पहिलो खाद्य दिवसको नारा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ थियो तर नारा र घोषणामा प्रतिवद्धता जनाए अनुरुप नेपालले कृषि तथा खाद्यान्न उत्पादन, सञ्चिती र वितरणमा भने खासै प्रगति गर्न सकेको छैन । यो अत्यन्त दुःखको कुरा हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले नेपालको कृषिक्षेत्रमा आएको सुस्ततासँगै खाद्य सुरक्षाको चुनौती पनि बढ्दो छ । कृषिमा न्यून लगानी, जलवायु परिवर्तनको असर लगायतका कारणले पछिल्ला वर्षहरूमा कृषिक्षेत्रको उत्पादन सन्तोषजनक छैन ।

अहिले नेपालमा सजिलै उत्पादन हुने गेडागुडी, मासु, तरकारी र फलफूल समेत आयातको सूचीमा छन् । समृद्धिको भाषण गर्न नथाक्ने नेताहरुको प्राथमिकतामा कृषि कहिल्यै परेन । राष्ट्रवादका नाराले मात्र कृषि उत्पादन बढेन, भोका किसानको पेट भरिएन, न त युवा किसानको खाडी यात्रा नै रोकियो । कृषिको दीर्घकालीन रुपान्तरणका लागि समयमै आवश्यक पहल गर्न नसक्ने हो भने केही वर्षपछि हामीले खाद्यान्न आयात दिवस मनाउनुपर्नेछ । ६० प्रतिशत कृषि व्यवसाय र ५८ प्रतिशत कृषियोग्य भूमि रहेको नेपाल आफ्नै उत्पादनबाट आत्मनिर्भर बन्न नसक्नु जत्तिको विडम्वना अरु केही हुन सक्दैन । कृषि शिक्षामा विद्यार्थीहरूलाई प्रोत्साहन, आकर्षण गर्न नसक्नु, सरकारी नीति निर्माणका कुराहरूमा गफ धेरै काम कम हुनुले पनि नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेको छैन । कृषिलाई उद्योगका रूपमा परिभाषित गर्नुअहिलेको आवश्यकता हो । यसर्थ बदलिएको कृषि विकासका आयामहरूको विश्लेषण गरी आम राजनीतिक प्रतिवद्धतासहितको स्पष्ट दृष्टिकोण बनाई कृषि क्षेत्रको रुपान्तरण गर्न सके मात्र विश्व खाद्य दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update