Shittalpati
बढ्दै देशभर चिसो

पाल्पा, नेपालमा मनसुन बाहिरिएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो । मनसुन बाहिरिएसँगै अहिले देशभर चिसो बढ्दै गएको छ । ‘पोस्ट’ मनसुन चलिरहेकाले क्रमशः चिसो महसुस गर्न थालिएको हो । मौसमविद्हरुले समेत मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसममा सुधार आएको छ । पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा भने बदली र वर्षा भइरहेको छ । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान निकै चिसो महसुस गरिएको हो । 

पछिल्लो केही दिन यता तानसेनमा चिसो क्रमिक रुपमा बढिरहेको कैलाशनगरकी शान्ता ढकालले बताईन् । उनले भनिन्‘ एक/दुई दिन भयो तानसेनमा चिसो बढेको महसुस गरिएको छ । मौसम परिवर्तनले होला रुघाखोकीले समेत ग्रसित बनाएको छ ।’ साँझा विहान बाक्ला कपडा लगाएर बस्नु परेको ढकालले बताइन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले समेत चिसो बढ्दै गएकाले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।  

महाशाखाका अनुसार पाल्पा, काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । सामान्यतः डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो याम मानिन्छ । तर यस वर्ष अक्टोवरको आधा महिनामै चिसो बढ्न थालेको हो । निरन्तर चिसो बढ्न थालेपछि सतर्कता अपनाउन चिकित्सकहरूले समेत सुझाव दिएका छन् । उनीहरुले विशेष गरी बालबालिका र वृद्ध वृद्धाको खानपान र लगाउने कपडाहरूमा विशेष ध्यान पुर्‍याउन सुझाव दिएका छन् । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्न चिकित्सकले आग्रह गरेका छन् ।

जाडो मौसम शुष्क हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुने भएकाले आक्रमण पनि छिटो हुने उनीहरुको भनाई छ । चिसो समयमा वातावरणमा उत्पन्न भाइरसले छिटो आक्रमण गर्छ । चिसोमा सकेसम्म तातो पानी, झोलजन्य खानेकुरा र सुप पर्याप्त मात्रामा खानुपर्छ । जाडोका कारण पानी कम प्रयोगमा ल्याउँदा अन्य स्वास्थ्य समस्या निम्तिन सक्छन् । चिसो बढ्न थालेपछि त्यसबाट बच्न सबैले सतर्कता अपनाउन आवश्यक रहेको चिकित्सकहरुको सुझाव छ । जल तथा मौसम विज्ञान विभागले समेत हाल खडेरी, बाढी, पहिरो, शीत लहर, लु (तातो हावा) आदि मौसम तथा जलवायुजन्य विपदबाट हुने क्षति न्यूनीकरण तथा प्रतिकार्यको लागि  मौसम तथा जलवायु अनुगमन तथा पूर्वानुमान गरिरहेको छ । विभागले बढ्दो विषम जलवायु घटनाहरूलाई विचार गर्दै भारी वर्षा, चिसा दिन तथा शीतलहर र तातो दिनको अनुगमन तथा चेतावनी प्रणाली सार्वजनिक गर्दै आएकाले पनि ठूलो परिमाणमा क्षति हुनबाट भने कम हुँदै गएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update