Shittalpati
पाल्पामा ‘प्रहरी दिवस’ : उत्कृष्ट प्रहरी कर्मचारी तथा अन्य व्यक्तिहरुलाई सम्मान

पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले ६९ औं प्रहरी दिवस भव्यताका  साथ मनाएको छ । प्रहरीले बुधबार विभिन्न  कार्यक्रम गरी दिवस मनाएको हो ।

नेपाल प्रहरीले असोज ३० गतेलाई प्रहरी दिवसको रुपमा मनाउँदै आएको छ । नेपाल प्रहरीको स्थापना २०१२ साल असोज ३० गते भएको हो । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पाल्पाले उत्कृष्ट काम गर्ने प्रहरी, विभिन्न  क्षेत्रबाट प्रहरीलाई सहयोग गर्ने व्यक्ति , संघ संस्था, खेल प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई सम्मान गरेको छ । यस्तै सोही अवसरमा विभिन्न समयमा सेवामा खटिदा विरगती प्राप्त गरेका अमर प्रहरीका परिवारहरुलाई दोषल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

अमर प्रहरीप्रति प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्लाका निमित्त प्रहरी प्रमुख सुनिल मल्ल लगायतले अमर प्रहरीप्रति पुष्पगुच्छा अर्पण गर्दै माल्यापर्ण गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काफ्लेले सिंहदरबारदेखी जनताको घरदैलोसम्म पुग्ने जनताको हरेक दुःख सुखमा साथ दिने एक मात्र संस्था नेपाल प्रहरी भएको बताए । जनताको हरेक विपद्का घटनादेखी जस्तो सुकै काममा प्रहरीको अहम भूमिका भएको प्रजिअ काफ्लेले उल्लेख गरे । उनले भने ‘विपद्का बेला होस् वा  समाजमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी सधैव कटिवद्ध भएर लागेको छ ।’

प्रजिअ काफ्लेले सही सूचना समयमै प्रहरीलाई दिन समेत आम नागरिकलाई आग्रह गरे । उनले सबैको साझा प्रयास  र सहयोग पाएमा सुरक्षा निकायले आफ्नो जिम्मेवारी कुसलतापूर्व पुरा गर्ने बताए ।  पूर्व प्रहरी संगठनका केन्द्रीय सदस्य मुक्तिराम शर्माले प्रहरीलाई प्रविधी मैत्री बनाउन सके अझै गुणस्तरीय सेवा प्रदान गर्न सकिने भएकाले राज्यका हरेक निकायले प्रहरीलाई साधन, स्रोतयुक्त बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममातानसेन नगरपालिका– ४ का वडा अध्यक्ष  हेमन्तराज शाक्य, अमर प्रहरी परिवारकी सिता जिसी लगायतले  प्रहरीमा राष्ट्र र जनताप्रतिको जिम्मेवारी ठूलो रहेको बताउँदै  प्रहरीले अनुुशासनको पालना गर्दै उच्च मनोवलका  साथ काम गर्नुपर्ने बताए । जिल्लाका निमित्त प्रहरी प्रमुख सुुनिल मल्लले नेपाल सरकारको कानुन कार्यान्वयन देखी हरेक जनताको पिरमर्कामा प्रहरीको सक्रिय भूमिका रहेको बताए । अग्रज प्रहरी र अमर प्रहरीको मार्ग दर्शन र नेपालको कानुन अनुसार प्रहरी परिचालन हुँदै आएको उनको भनाई छ ।  मल्लको अध्यक्षता, प्रहरी निरीक्षक सन्दीप बेल्वासेको स्वागत, प्रहरी नायव निरिक्षक गणेश विकको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update