Shittalpati
गरिबी निवारण दिवसको औचित्य

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने गरिएको छ । गरिबीको उन्मुलन शान्ति, स्थायित्व र आर्थिक विकासका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । यही कुरालाई लिएर गरिबी निवारणका लागि शान्तिपूर्ण र समावेशी समाजहरु भन्ने विश्वव्यापी अवधारणा अघि सारिएको थियो । सोही अनुरुप यो दिवस हरेक वर्ष मनाइँदै आइएको छ ।

नेपालमा जनताको जीवनस्तरमा परिवर्तन भई गरिबी निवारण गर्ने लक्ष्य राखिए पनि यो सधैँ चुनौतीका रुपमा रहिआएको छ । बर्सेनि दुई प्रतिशतका दरले गरिबी घटिरहेको तथ्याङ्क सार्वजनिक हुने गरे पनि निरपेक्ष गरिबीको रेखामुनि रहेका समूहको जीवनस्तरमा भने खासै परिवर्तन हुन सकेको छैन । अझै पनि देशका धेरै नागरिक गरिबीका कारण आधारभूत आवश्यकताबाटै बञ्चित भइरहेका छन् । संविधानले आधारभूत आवश्यकताबाट कोही पनि बञ्चित हुन नपर्ने व्यवस्था गरे पनि गाँस, बास र कपासकै समस्याबाट धेरै नागरिक गुज्रिनु परेको छ । यो अत्यन्त दुःखको कुरा हो । सामान्य अर्थमा गास, बास, कपास, शिक्षा र स्वास्थ्यको पहुँच नपुगेको अवस्था नै गरिबी हो । रोग, भोक, अज्ञानता र अशिक्षा गरिबीका विशेषताहरू हुन् । यही भएर नै देशको आर्थिक विकासमा गरिबीलाई मुख्य चुनौतिको रूपमा हेर्ने गरिएको छ । गरिबीले सामाजिक कल्याणमा ह्रास ल्याउनुका साथै मुलुकको आर्थिक प्रगतिमा बाधा सिर्जना गरिदिन्छ । त्यसैले विकासशील हुन् वा विकसित, सबैजसो मुलुकहरूका लागि गरिबी चिन्ता र चासोको विषय बनेको छ । गरिबीलाई सामान्यतया सापेक्ष गरिबी र निरपेक्ष गरिबी गरी दुई किसिमले परिभाषित गर्न सकिन्छ । आफ्ना न्यूनतम आधारभूत आवश्यकताहरू पनि पूरा गर्न नसक्नेहरू निरपेक्ष गरिब हुन् भने सापेक्ष गरिबी एक तुलनात्ममक अवधारणा हो । कुनै पनि मुलुकले गति लिन नसक्नुको पछाडी प्रमुख कारण गरिबी नै हो । गरिबी पनि राज्यका अंगसँगै जोडिएर आउने विषय भएकाले यसको निवारणका लागि सरकारका सबै निकाय क्रियाशील भएर लाग्न आवश्यक छ । यसो भयो भने मात्र हरेक वर्ष गरिबी निवारण दिवस मनाउनुको औचित्य रहन्छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update