Shittalpati
आज पूर्णिमा व्रत : बडादसैँ समापन

पाल्पा, आज शुक्ल पक्षको अन्तिम दिन अर्थात् पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास रही आएको छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।

वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्वबलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयबाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसैले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ । दसैँ पछिको आजको पूर्णिमाको महत्व आकाश दीप र कार्तिक स्नान दुवैको घोतक मानिन्छ । आजबाट अब आकाशे दीप दान र कार्तिक स्नान दुवै परम्पराको सुरुवात भएको छ । यस वर्ष कोजाग्रत पूर्णिमा भने बुधबार मनाइएको छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिएको छ । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा बुधबार नै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने आज परेको हो । यसैले मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिनका रुपमा हिजोलाई नै दिइएको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम सकिएको छ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । बडादसैंको सार्वजनिक बिदा सोमबार सकिएर मंगलबारदेखि सरकारी कार्यालय खुलेका छन् । कात्तिक १ अर्थात् आजदेखि नेपालीको महान् चाड बडादसैँ विधिवत् रुपमा समापन हुँदै छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update