Shittalpati
सुन तोलाकै १ लाख ६४ हजार ४ सय पुग्यो

पाल्पा, नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा सुन किनबेच भएको थियो । त्यस्तै तयारी गहनाको मूल्य भने कम्तीमा १ लाख ८९ हजार पुगेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ । जसले गर्दा सुन अझ महँगो हुहन पुगेको छ । अहिले सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ निर्धारण गरिए पनि उक्त मूल्यमा सर्वसाधारणले गहना पाउँदैनन् । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत शुल्क जोड्छन् । त्यस्तै बिहीबारको तुलनामा चाँदीको मूल्यमा शुक्रबार ३० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ पुगेको छ । बिहीबार भने चाँदीको मूल्य १ हजार ९ सय ५० रहेको थियो । 

सुनको भाउले अझै बढ्ने क्रम जारी छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको प्रमुख कारण नै अमेरिकाले ब्याजदर कटौती गर्ने सुनिश्चितता गर्नु हो । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update