Shittalpati
पाल्पामा दुई दिने ‘हेरिटेज राइड–२०८१’ हुने

 पाल्पा, पाल्पामा दुई दिने ‘हेरिटेज राइड–२०८१’ हुने भएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने गरी ‘सम्पदा साइकल राइड’ आयोजना हुने भएको हो ।

‘स्वास्थ्य र पर्यटनको लागि साइकल चलाउने’ भन्ने मूल नाराका साथ यही कार्तिक २३ र २४ गते साइकल यात्रा गर्न लागिएको संघले जनाएको छ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितिमा साइकल यात्रा हुने छ । जसमा जिल्लाका ऐतिहासिक धार्मिक, पर्यटकीय स्थलहरु  पाल्पा दरबार संग्रहालय, भैरवस्थान मन्दिर, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी,रानीमहल, देवदत्तपार्क, लिस्ने भिर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने छ । 

संघले शुक्रबार तानसेनमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको छ । संघका अध्यक्ष रुपेश महर्जनले स्वास्थ्य र पर्यटकीय क्षेत्रलाई जोडेर साइकल यात्रा गर्न लागिएको बताए । उनले यो कार्यक्रम पाल्पा साइक्लिङ संघको मात्र नभएर आम पाल्पालीहरुको हितमा हुन लागेकाले  प्रचार–प्रसारमा सहयोग गरिदिन जिल्लाका पत्रकारहरुलाई आग्रह गरे । यात्रामा देशभरका १ सय ५० बढी साइकल यात्री सहभागी हुने संघका उपाध्यक्ष अमन शाक्यले बताए । उनले भने ‘कार्यक्रममा सहभागी हुन हामीले अनलाईमार्फत दर्ता गर्न आह्वान गर्छौं, त्यसमा १ सय ५० जनालाई हामीले सहभागी गराउने लक्ष्य लिएका छौं, उक्त संख्या भन्दा पनि बढी हुन सक्नुहुन्छ ।’

अनलाईन दर्ता व्यक्तिगत र सामूहिक दुवै तरिकाबाट गर्न सकिने संघका सदस्य शान्तम थैवले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सहभागी हुन दर्ता शुल्क प्रतिव्यक्ति २ हजार ५ सय लाग्ने छ । उनीहरुलाई बस्ने खाने व्यवस्थाका लागि भने विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी आयोजकले व्यवस्था गर्ने उनले बताए । प्रचार–प्रसारको अभावमा रहेका पर्यटकीय स्थलहरुको प्रत्यक्ष अवलोकन गराई तिनीहरुको प्रचार गर्ने उद्देश्यले तानसेनका युवाहरुको सक्रियतामा हुन लागेको कार्यक्रमलाई सबै पक्षबाट सहयोग हुनुपर्ने संघका सदस्य सुरज शाक्यले बताए । कार्यक्रममा तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जनले संघले आयोजना गर्न लागेको कार्यक्रमले स्वास्थ्यलाई मात्र नभई पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको बताए । उनले भने ‘साइकल यात्राले साहासिक खेलको विकास मात्र गर्दैन यसले यहाँको पर्यकीय स्थलहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन समेत ठूलो मद्दत पुुग्दछ भन्ने मैले विश्वास लिएको छु ।’ पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्ति न्यौपानेले संघले आयोजना गर्न लागेको हेरिटेज राइडलाई सफल पार्न पाल्पाली पत्रकारहरुले सहयोग गर्ने बताए ।  

कार्यक्रम सम्पन्न गर्नका लागि ८ लाख ६० हजार खर्च अनुमान गरिएको छ । साइकल यात्रामा सहभागी हुनेहरुलाई टुुँडीखेलबाट धिमे बाजासहित पाल्पा दरबार संग्राहालय परिसरमा पुर्‍याइने संघका सदस्य बेशान्तर शाक्यले जानकारी दिए । उनका अनुसार यात्रा दरबार परिसरबाट सुरु भई विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पुगी त्यहाँको बारेमा उनीहरुलाई जानकारी गराईने छ ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update