Shittalpati
घट्दो व्याजदरले समस्या नआओस्

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त हुँदा केही महिनादेखि वाणिज्य बैंकहरूले ब्याजदर घटाउँदै लगेका छन् । उनीहरुले हरेक महिना सार्वजनिक गर्ने व्याजदरमा निक्षेपको ब्याजदर घटाउँदै गएको पाइन्छ । बैंकको ब्याजदर घट्दै गए पनि पर्याप्त लगानी हुन भने सकिरहेको छैन् । कार्तिक महिनाका लागि पनि बैंकहरूले ब्याजदर घटाएका छन् । लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ ।

निक्षेप बढिरहे पनि अपेक्षित रूपमा कर्जाको माग बढ्न नसकेकाले बैंकहरुरुले निक्षेपको ब्याजदर फेरि घटाएका हुन् । असोजको तुलनामा कार्तिकमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२४५ प्रतिशत बिन्दुले घटेको छ । असोजमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ६.३९६ प्रतिशत थियो । कार्तिकका लागि यो ब्याजदर घटेर औसत ६.१५१ प्रतिशतमा कायम भएको छ । बैंकको ब्याजदर घट्नु सकारात्मक पक्ष भए पनि यसको व्यवस्थापन चुनौतीपूर्ण छ । यसरी घटेको ब्याजदरले अर्थतन्त्रलाई गति दिन्छ त ? यसको लाभको वितरण सामाजिक न्याय मिल्ने गरी हुन्छ त भन्ने प्रश्न अहिले आम रुपमा उठेको छ । ब्याजदर घटेपछि बैंकमा थुप्रिएको तरलताका कारण कर्जा प्रवाह बढ्ने अपेक्षा गरिएको छ । तर, यस्तो कर्जा कुन क्षेत्रमा जान्छ, त्यसले उत्पादकत्व वृद्धि गर्छ कि उपभोग मात्रै बढाउँछ भन्ने कुराले अर्थतन्त्रमा निकै अर्थ राख्छ । अर्थतन्त्रको समस्या उत्पादन नबढ्नु तथा उपभोग बढ्नु हो । उत्पादन बढाउने गरी बैंकिङ क्षेत्रले लगानी गर्छ कि गर्दैन ? अर्को, अर्थतन्त्रलाई गति दिन कुनकुन क्षेत्रलाई प्रोत्साहित गर्न के कस्तो क्रियाकलापमा वित्तीय लगानी गर्नुपर्ने हो, त्यसमा कर्जा प्रवाह हुन्छ कि हुँदैन ?, अर्को यस्तो क्षेत्रको निर्धारण कसरी गर्ने भन्ने स्पष्ट नीति बन्न सकेको छैन ।

ब्याजदर घट्दा उद्योग व्यवसायले लाभ लिन्छन् र उत्पादन बढ्छ भन्ने विश्लेषण रहेको पाइन्छ । तर, ब्याजदर घट्दा निक्षेपमा लगानी गरेर त्यसको ब्याजबाट जीवन धान्नेहरूलाई भने यसले समस्या पार्छ । उनीहरूको आय घट्दा उपभोग घट्छ र माग पनि घट्छ । माग घटेपछि अहिलेकै चक्रको पुनरावृत्ति नहोला पनि भन्न सकिँदैन । त्यसैले ब्याजदर घट्नु सकारात्मक भए पनि त्यसले पार्ने असर अर्थतन्त्रमा केकस्ता हुन्छ, घटेको ब्याजदरको लाभ देशका सबै पक्षले पाउन के गर्नुपर्छ भन्ने कुराका लागि नेपाल राष्ट्र बैंकले अध्ययन र काम गर्नु आवश्यक छ । ब्याजदर घटेर एउटालाई लाभ र अर्कोलाई समस्या आउनु हुँदैन । यसर्थ यसतर्फ राष्ट्र  बैंकले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update