Shittalpati
पाल्पामा ऐतिहासिक ‘सराए नाच’ देखाइयो 

पाल्पा, बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै सराय नाच निकालिएको छ । देवी भगवती दुर्गाले राक्षस, असुरहरुलाई तरवारको प्रयोग गरी बध गरी विजय प्राप्त गरेको सम्झना स्वरुप पाल्पाका गाउँ–गाउँका डाँडा र मन्दिरहरुमा वाख्खै हो भन्दै तरवार नाच देखाइएको हो । 

बडा दसैंको अवसरमा देवी भगवती मन्दिरहरुमा खेलिने तरवार नाच निकै प्रचलित हुँदै आए पनि नयाँ पुस्तामा हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको छ । पाल्पाका प्रत्येक देवी, भगवती मन्दिरहरुमा निकालिने सराय नाच तानसेनको लिपिन्देवी मन्दिर, बौघागुम्वा, छहराको कटौजेपानी, भुवनपोखरीको रैनादेवी, लगायतका मन्दिरमा प्रदर्शन गरिएको छ । विगतका समयमा मनोरञ्जनका साधन नभएकाले यस्ता नाचहरु मनोरञ्जनमा मानिसको ध्यान केन्द्रित भए पनि आजकल सामाजिक सञ्जालको कारण संस्कृति लोप हुने अवस्थामा पुगेको बुढापाका बताउँछन् । नाचमा पाकापुस्तादेखि युवाहरुले सामुहिक र एकल रुपमा तरवार नचाएका थिए । निकै जोखिम, खतरापूर्ण खेलको रुपमा तरवार नाचलाई लिने गरिन्छ । होसियारी नअपनाएमा तरवार नचाउनेदेखि दर्शकहरुको ज्यान समेत जान सक्ने भएकाले निकै लामो अभ्यास पछि मात्र तरवार नचाउने गरिएको मन्दिरका पुजारीहरु बताउने गरेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update