Shittalpati
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

पाल्पा, बिहीबार र शुक्रबार देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दुई दिन ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाकाले कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको जनाएको छ । महाशाखाले ६ महिनादेखि ५ वर्ष मुनिका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक देखि पाँच वर्ष मुनिका बालबालिकालाई १८ देखि १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य लिएको छ । सात सय ५३ वटै स्थानीय तहमा यस्को व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त सेवाका लागि पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ । बालबालिकाको विकासको लागि खोप र पोषण दुवै अपरिहार्य रहेको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि प्रत्येक वर्ष दुई पटक खुवाउँदै आएको छ ।

प्रत्येक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरिएको हो । भिटामिन र जुकाको औषधिले स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ । सोही समयमा छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा समेत वितरण गर्ने गरिएको छ । सरकारले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सबैमा आग्रह गरेको छ ।  

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update