Shittalpati
पूर्व गृहमन्त्री लामिछाने प्रहरीको हिरासतमा, भोली अदालतमा उपस्थित गराइने

पोखरा, पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाएको थियो ।

रातभरको कार्यकर्ताको नाराबाजीलाई छल्दै सीआईबीको टोलीले लामिछानेलाई कास्की प्रहरीको जिम्मा लगाएको हो । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछानेलेलाई शनिबार सार्वजनिक बिदा परेका कारण भोली आइतबार मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ  ।

उनलाई पक्राउ गरेपछि पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका छन् । शनिवार बिहानैदेखि पोखरामा भेला भइ रास्वपाका नेता÷कार्यकर्ताहरुले बिरोध जनाएका हुुन् । उनीहरुले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन् । उनीहरुले सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरुलाई कारबाही गर, दलाल माफियाहरु होशियार लगायतका प्लेकार्ड र नारा लगाइ बिरोध जनाएका छन् । लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update