Shittalpati
नेपालले अमेरिकालाई हरायो

काठमाडौं, दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएको छ । अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो । सुपर ओभरमा अमेरिकाले २ रन बनाएको थियो । नेपालका सोमपाल कामीले २ रन दिएर २ विकेट लिए ।

त्यसअघि नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रनमात्रै बनाउन सक्यो । नेपाल र अमेरिकाको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको हो । अमेरिकाका आन्द्रेस गौसले सबैभन्दा धेरै ६२ रन बनाए । नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिए ।

यो जीतसँगै नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update