Shittalpati
दोषी नउम्कियोस्, निर्दोष नफसोस्

देशभर सहकारी ठगी प्रकरणको विषयले व्यापकता पाएको छ । सर्वसाधारण नागरिकले सहकारीमा बचत गरेको अरबौं रकम अपचलन भएपछि यो विषयले व्यापकता पाउँदै गएको हो । उक्त विषयमा छानविन गर्न संसदीय समिति बन्यो । समितिले छानविन गरेर प्रतिवेदन तयार मात्रै होइन कारवाहीको सिफारिशसमेत गरेको छ । ठगीका आरोप लागेका केही व्यक्तिहरु पक्राउ परेका छन् भने केही फरार छन् । सरकारले तिनीहरुको पनि खोजि गरिरहेको छ ।

अझ विशेष चासोको विषय त पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको संलग्नता पुष्टि गर्दै समिातिले कारवाहीका लागि सरकारलाई सिफारिस गरेपछि बढेको छ । सिफारिस बारे अनेक तर्कका आधारमा फरक मत प्रकट गर्दै मतमतान्तरहरू देखापरे । रवि पक्षधरहरूले रविले क्लिन चिट पाएको तर्क गरे भने उनका विपक्षीहरूले रविलाई यसरी क्लिन चिट दिएको छैन बरू कारबाहीका लागि सिफारिश गरेको छ भन्दै आए । सोही कार्यमा रविसँग सहकार्य गरेका जिबी राई फरार छन् र अर्का सहकर्मी छविलाल जोशीलाई पक्राउ गरिएको छ । त्यस आधारमा रविलाई लामो समयपछि शुक्रबार बल्ल पक्राउ गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । अहिले लामिछानेलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रााखिएको छ । उनी दोषी हुन वा निर्दोष अहिले नै भन्न सक्ने अवस्था छैन् । त्यो अनुसन्धानको विषय हो । लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । 

लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ । यो आरोप सत्य हो वा होइन थप अनुसन्धानले बताउने छ । रवि दोषी हुन वा निर्दोष सत्य तथ्य बाहिर आउनै पर्छ । दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने काम हुनु हुँदैन । रवि दोषी भए उनलाई आवश्यक कारवाही हुनुपर्छ । निर्दोष भए सबैले उनलाई एकै मतले निर्दोष भन्न सक्नुपर्छ, जबरजस्ती दोषी करार गरेर फसाउने काम गरिनु हुँदैन ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update