Shittalpati
लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

पोखरा, सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अनुसन्धान गर्न म्याद थपका लागि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए । जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी जारी गरेसँगै शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । लामिछानेलाई सहकारी ठगी, संगठित अपराध एवं किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएपछि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टीका नेता कार्यकर्ताहरु पोखरासहित देशका विभिन्न शहरमा प्रदर्शनमा उत्रिएका छन् । शनिबारदेखि कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएपछि पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो । पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update