Shittalpati
गलत बाटोमा रास्वपा  

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पार्टीका नेता एवं कार्यकर्ता सडक संघर्षमा उत्रिएका छन् । सहकारी ठगी, संगठित अपराध एवं किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनीहरु पोखरासहित देशका विभिन्न शहरमा प्रदर्शनमा उत्रिएका छन् । अहिलेको अवस्थामा समर्थक र कार्यकर्ता उतारेर रास्वपाले रवि समातिनुको कारण राजनीतिक प्रतिशोध रहेको भाष्य स्थापित गर्न  खोज्नु गलत हो । लामिछानेमाथि प्रतिशोधको राजनीति नै गरिएको हो भने यो किन र कसरी हो ? के वास्तवमै प्रचण्ड नेतृत्वको सरकारले मुलुकमा भ्रष्टाचारलाई निमिट्यान्न पार्ने संकल्प गरेको र यसविरुद्ध अहिलेको गठबन्धन बनेको हो ? कुन व्यक्ति र शक्तिले यसमा भूमिका खेले ? अचानक सरकार परिवर्तन कसलाई कति फाइदा पुग्यो ? कम्तीमा यी प्रश्नका प्रामाणिक जवाफले मात्र प्रतिशोधको राजनीतिको रटानलाई पुष्टि गर्न सक्छ । सत्तामा हुँदा तिनकै अगलबगलमा बसेर दीक्षा लिइरहँदा ओली–देउवा पवित्र हुने र सत्ता बाहिर रहँदा तिनैमाथि कारवाही गर्न लागेको फुइँ गर्ने प्रवृत्ति राम्रो हैन ।

अहिले रास्वपाका नेता र कार्यकर्ताले निष्पक्ष छानविनमा सघाउनुपर्नेको सट्टा सडकमा उत्रिएर लामिछानेको बचाउ गर्ने विभिन्न आरोपमा उत्रिनु भनेको सिंगो पार्टी नै गलत प्रवृतिमा लागेको देखिन्छ । यसले सिंगो लोकतन्त्रलाई नै दुषित बनाउन्छ भन्ने कुरा रास्वपाले विसर्नु हुन्न । छानविनमा रहेको व्यक्तिलाई रिहाइ गरिनुपर्छ, निर्दोष छ भन्ने कुरा गैरलोकतान्त्रिक र कानुनको शासनको विपरित हो । कुनै पनि राजनीतिक दल त्यसका कार्यकर्ताको भूमिका भनेको कानुनको शासन र लोकतन्त्रलाई संरक्षण गर्ने खालको हुनुपर्छ । तर रास्वपामा भने त्यस्तो देखिएन । वैकल्पिक पार्टीका रुपमा उदायको पार्टीका सभापति समेत रहेका लामिछानेले नै आफूविरुद्ध पक्राउ पछि सामाजिक सञ्जालमा, सरकार म¥यो हामीलाई जुठो प¥यो भन्ने शब्द लेख्नु एकदमै अराजक, गैरसंसदीय र कुनै पनि सभ्य व्यक्तिले लेख्नै नमिल्ने शब्द हो । यसबाट पनि रास्वपा र लामिछानेको राजनीतिक प्रवृत्ति, क्षमता र स्वभाव गलत छ भन्ने प्रष्टै हुन्छ । लामिछानेको मुद्दा अनुसन्धानकै क्रममा रहेकाले दोषी वा निर्देश भन्ने कुरा अदालतले नै गर्ने भएकाले अहिले सडकमा  उत्रिनु उचित हैन । बरु अनुसन्धानलाई सघाउनु रास्वपाको उचित कदम हुन सक्छ ।  

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update