Shittalpati
दुना–टपरीले फेरिएको दैनिकी

पाल्पा, तानसेन नगरपालिका–३ काजीपौवाकी मिनु रोकाहालाई विगतमा दिन बिताउन निकै गाह्रो थियो । घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्थिन् । हिजोआज उनको दैनिकी फेरिएको छ ।

दिन कसरी बिताउने भन्ने चिन्ता पनि हरायो । उनी अहिले हरेक दिन काजीपौवामा रहेको दुना–टपरी उद्योगमा बिताउँछिन् । अचेल उनलाई उद्योगमा महिलाहरुसँग गफिँदै टपरी बन्दाबुन्दै समय बितेको पत्तै हुँदैन । ‘बिहान–बेलुका घरको काम गरेर दिउँसो दुना–टपरी बनाउन उद्योगमा आउन्छु, अहिले समय गएको पत्तो हुँदैन’ रोकाहाले भनिन् । खाली समयको सदुपयोग मात्र भएको छैन् घरखर्च चलाउन अरुसँग आस गर्नु पनि नपरेको उनले सुनाईन । रोकाहाले भनिन्‘ उद्योगमा काम गर्न लागेदेखि आफुको लागि आवश्यक पर्ने साना तिना सामानहरु किन्नको लागि कसैको आश गर्न परेको छैन, यहीँको कमाइले गुजारा चलेको छ ।’ सिता केसीको दैनिकी पनि सामान्य घरको काम बाहेक अरु समय मोवाइल हेरेरै बित्थ्यो । आजभोली दुना– टपरी उद्योगमा बसेर  काम गर्न थालेपछि दिन वितेकै थाहा नहुने उनको भनाई छ । उनले भनिन्, ‘दिनदिनै मोबाइल चलाउँदा आँखा दुख्ने, टाउको दुख्ने हुन्थ्यो, दिनभर घरमा बस्दा बस्दा दिक्क लाग्ने गथ्र्यो, अहिले यहाँ (उद्योगमा) धेरै महिला दिदी बहिनीहरु आउँछन्, उनीहरुसँग कुराकानी गरेर टपरी बुन्छु, दिन बितेको थाहै हुँदैन, मेरो लागि त दिन बिताउने आधार बनेको छ, आम्दानी पनि हुन्छ ।’ जिल्लाका विभिन्न स्थानहरुबाट टपरी–दुनाको लागि सस्तो मूल्यमा पातहरु ल्याएर दिउँसोको समयमा दुना टपरी बनाई विभिन्न ठाउँमा पठाउने गरेको केसीले बताईन् । दुना–टपरी बनाउने चलन हराउँदै जाँदा संस्कृति समेत मेटिन लागेकाले आफुहरु जर्गेना गर्न लागि परेको हरीकला रानाको भनाई छ । कतिपय नयाँ पुस्तामा दुना, टपरी बनाउने चलन थाहा नभएको अर्की महिला मन रानाले बताईन् ।
 ५ वर्ष अघि काजिपौवा बहुउश्द्देयीय महिला समूहले सञ्चालन गरेको दुना–टपरी उद्योगमा महिलाहरु भेटिन्छन् । उद्योगमा केही महिलाहरु टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरिरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइरहेको छ । उद्योग सञ्चालनमा आएको छोटो समयमै दुनाटपरीको माग बढ्न थालेपछि महिलालाई अहिले भ्याइनभ्याइ छ । उद्योग सञ्चालनमा आएपछि वनमा खेर गएका सालका पातले पनि बजार पाउन थालेको छ । महिला दिदीबहिनीहरुलाई आयआर्जनसँग जोड्न र हराउँदै जान थालेको दुना– टपरी बनाउने चलनलाई कायम राख्न उद्योग सञ्चालनमा ल्याइएको उद्योगकी अध्यक्ष चमेली श्रेष्ठले बताइन् । उनले चुलोचौकोमा मात्र सिमित महिलाहरु अहिले आत्मनिर्भर बन्दै गएको उल्लेख गरिन । उद्योग सञ्चालनमा आएपछि वनमा खेर गइरहेको सालको पातको सदुपयोग समेत भएको उनको भनाई छ ।

तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संघ (रेडा) र युएनडीपीको सहयोगमा ठूला टपरी बनाउने मेसिन र सानो टपरी बनाउने मेसीन पाएको अध्यक्ष श्रेष्ठले बताइन् । उनले डिभिजन वन कार्यालय पाल्पाको सहयोगमा १ लाख बराबरको उद्योगका लागि आवश्यक सामाग्रीहरु समेत अनुदानमा पाएको उल्लेख गरिन् । २०७७ मंसिर १५ गते ४० जना मिलेर समूहमा उद्योग खोलिएको थियो । अहिले यहाँ ५ जना महिना मात्र सक्रिय रुपमा लागिरहेका छन् । यहाँ तयार गरिएका दुना–टपरी पाल्पासहित बाहिर पनि पुर्‍याउने गरिएको छ । साईज अनुसार दुई रुपैयाँदेखि १० रुपैयाँसम्म  दुना– टपरी विक्रि हुँदै आएको छ । सालको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढंगले उत्पादन गर्न थालिएको हो । धार्मिक कार्यका लागि दुनाटपरी महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update