Shittalpati
रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

बुटवल, रुपन्देहीमा सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहेका बेला सहकारी पीडितहरू भने बचत फिर्ता र रकम अपचलन गर्नेलाई कारवाहीको माग गर्दै सरकारी वकिल कार्यालय नजिकै प्रदर्शनमा उत्रिएका हुन् ।

पीडितहरु प्ले कार्ड र कालो ब्यानरमा नारासहित विरोध प्रदर्शन गरिरहेका हुन् । प्रदर्शनकारीले हाम्रो रगत–पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगीलाई कारवाही गर, दोषीलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले रवि लामिछाने, छविलाल जोशी र जीवी राईलाई राजनीतिक संरक्षण भएको आरोपसमेत लगाएका छन् । सहकारीमा रकम लगानी गरेका पीडितहरू घरबारविहीन भएको भन्दै प्रदर्शनमा उत्रिनुु परेको पीडित संघर्ष समितिका अध्यक्ष विजयकुमार नेपालले बताए । पसिना बगाएर आफुहरुले जम्मा गरेको रकम फिर्ता गरिदिन सरकारसँग पटक–पटक हारगुहार गर्दै आए पनि उचित कदम नचालिएको उनको भनाई छ ।

उता प्रहरीले अनुसन्धान सुरु गरिरहेको भन्दै विरोध प्रदर्शन नगर्न आग्रह गरे पनि पीडितहरुले अदालतअघि नै प्रदर्शन गर्दै आएका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानमा रहेका जोशीलाई सोमबार पोखराबाट जहाजमार्फत बुटवल ल्याइएको थियो । उनको मंगलबार अपराह्न्न १२ बजेबाट बयान सुरू भएको थियो । पोखराको सूर्य दर्शन सहरी ठगी प्रकरणमा पक्राउ परेका जोशी सुप्रिम सहकारी ठगीमा पनि जोडिएका थिए । सोमबार पोखराबाट भैरहवा ल्याएर सरकारी वकिल कार्यालयमा दिउँसो तीन बजेटबाट साँझ करिब ६ बजेसम्म बयान लिइएको थियो । बयान नसकिएपछि मंगलबार पनि जोशीसँग बयान लिइएको हो । संसदीय छानबिन विशेष समितिको सिफारिसमा असोज ६ गते जोशी पक्राउ परेका थिए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update