Shittalpati
नेता कार्यकर्तालाई पार्टी सिद्धान्तको बारेमा स्पष्ट पार्न जरुरी छ : काँग्रेस नेता श्रेष्ठ

गुल्मी, नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले नेता कार्यकर्तालाई पार्टी सिद्धान्तको बारेमा स्पष्ट पार्न जरुरी रहेको बताएका छन् । मंगलबार नेपाली काँग्रेस गुल्मीको बैठकलाई तम्घासमा सम्बोधन गर्दै उनले सबै तहका काँग्रेसका नेता कार्यकर्तालाई प्रशिक्षणका माध्यमबाट पार्टीको सिद्धान्तका बारेमा स्पष्ट बनाउन जरुरी रहेको बताएका हुन् । 


उपसभापति श्रेष्ठले पार्टी संगठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा समेत जोड दिए । काँग्रेस जिल्ला सभापति खिलध्वज पन्थीले पार्टीलाई बलियो बनाउन सबै तहका नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने बताए । पार्टीलाई बलियो बनाउन सैद्धान्तिक रुपमा नेता कार्यकर्ता पनि बलियो हुन जरुरी रहेको भन्दै उनले सबै तहका नेता कार्यकर्ताहरु पार्टीमा सदस्यता थप गर्नतर्फ लाग्नुपर्ने उल्लेख गरे ।


 बैठकमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा र महासमिति सदस्य एवं लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री धनेन्द्र कार्कीलाई सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै उनीहरुले पार्टीको हित हुने काम गर्दै आएको भन्दै नागरिकमा उर्जा प्रदान हुने गरी सबै जनप्रतिनिधिहरुले काम गर्न जरुरी रहेको बताए । पार्टी सचिव भगतसिंह खड्काले जिल्लाको पार्टी संगठनको अवस्थाको बारेमा जानकारी  गराएका थिए । नेपाली काँग्रेस प्रशिक्षण शाखा गुल्मीले १२ वटै पालिकामा प्रशिक्षणको आयोजना गर्न लागेको  अर्का सचिव जगदीश भट्टराईले बताए । बैठकमा पूर्व सभापति त्रैलोक्य प्रताप सेनलाई क्रियाशील सदस्यताको परिचयपत्र प्रदान गर्दै काँग्रेस गुल्मीले जिल्लामा क्रियाशील सदस्यता परिचयपत्र वितरणको शुभारम्भ समेत गरेको छ । जिल्लाबाट पालिका कार्यसमिति हुँदै वडा कार्यसमितिले क्रियाशील सदस्यता परिचयपत्र वितरण गर्ने सचिवालयले जनाएको छ ।


 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update