Shittalpati
गुल्मीमा अवैध घरेलु मदिरा र कच्चा पदार्थ नष्ट

गुल्मी, जिल्लामा अवैध घरेलुु मदिरा र कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले ८ सय १७ लिटर अवैध घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको हो ।

प्रहरीले रेसुङ्गा नगरपालिका भित्रका विभिन्न स्थानबाट उक्त परिमाणमा मदिरा बरामद गरेको जनाएको छ । अनुुगमनका क्रममा अवैध रुपमा मदिरा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घरेलु मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ ६ सय ५५ लिटर, तयारी मदिरा १ सय ६२ लिटर र ६ किलो मर्चा बरामद गरेर नष्ट गरेको हो । बरामद गरिएको मदिरा र कच्चापदार्थलाई सरोकारवालाको उपस्थितिमा रेसुङ्गा नगरपालिका–७ को डम्पिङ साइडमा लगी व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राम कुमार केसीले बताए ।

प्रहरी कार्यालयले समुदायमा मदिरा प्रयोगबाट हुने झैझगडामा कमी ल्याउन प्रहरी–समुदाय साझेदारीमार्फत अवैध घरेलु मदिरा नियन्त्रण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ । प्रहरीले अवैध घरेलु मदिरा प्रशस्त रहेको आन्तरिक सूचनाका आधारमा अनुगमनलाई निरन्तरता दिर्दै आएको छ । सस्तो मूल्यमा पाइने अवैध घरेलु मदिराका कारण युवाहरूले समेत मद्यपान गर्न थालेको तथा झैझगडा बढेपछि यो अभियान सञ्चालन गरिएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update