Shittalpati
स्वास्थ्य सेवामा सकारात्मक कदम

सबै भन्दा महत्वपूर्ण क्षेत्र भनेकै स्वास्थ्य हो । तर विगतमा यही स्वास्थ्य क्षेत्र सरकारको नजरमा सधै उपेक्षामा पर्दै आयो । सत्तामा पुग्ने राजनीतिक दलहरुको पनि सकभर स्वास्थ्य मन्त्रालय छनौटमा पर्न सकेन । बरु जहाँ धेरै बजेट चलाउन पाइन्छ, ति मन्त्रालहरु उनीहरुको रोजाई बन्न पुग्यो । जसले गर्दा स्वास्थ्य क्षेत्रमा कहिल्यै सुधार आउन सकेन । तर अहिलेको वर्तमान  केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भने स्वास्थ्य सेवामा थुप्रै सकारात्मक प्रयासहरु गरेका छन् । मन्त्री पौडेलले असार ३१ गते शपथ लिएलगत्तै स्वास्थ्य क्षेत्रलाई व्यापक सुधार गर्ने गरी सक्रिय रुपमा लागेका छन् । उनले पहिलो कदममै सातै प्रदेशका नागरिकले स्वस्थ भएर बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षार्थ क्यान्सर उपचार सेवा विस्तारको थालनी गरे । त्यो आफैमा स्वागतयोग्य कुरा हो । पहिलो निर्णयका रुपमा नागरिकको जटिल स्वास्थ्य समस्याका रुपमा रहेको क्यान्सर उपचारको विषयमा हस्ताक्षर गरेका उनले दुई महिनाभित्रमै पूर्ण कार्यान्वयनमा ल्याउनेतर्फ अग्रसरता देखाउनु नै  सकारात्मक पक्ष हो । अर्कोतर्फ सरकारी अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा सुरु गरिएको छ । स्वास्थ्य बिमाको दायरा बढाउन अध्ययन कार्यदल गठन भएको छ । बिरामीले शल्यक्रियाका लागि सरकारी अस्पतालमा पालो पाउन एक वर्षसम्म कुर्नुपर्ने बाध्यता छ । त्यसलाई तीन महिनामा झार्न मन्त्री पौडेलले पहल गरेका छन् ।

वीर अस्पतालजस्ता ठूला सरकारी अस्पतालमा हुने शल्यक्रियालाई स्याटेलाइट अस्पतालका रूपमा केही निजी र केही सरकारी अस्पतालमा पनि गराउने भन्ने छलफल भइरहेको छ । यस्तै, स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेपछि पौडेलले स्वास्थ्य बिमाअन्तर्गत अस्पतालभित्रकै फार्मेसीमा औषधि प्राप्त नहुने अवस्था हटाउन लागी परेका छन् । क्यान्सर सेवा विस्तारझैं मुटु रोगको उपचारलाई पनि सातै प्रदेशमा विस्तार गर्ने जिम्मा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई दिइएको छ । सुरु गरिएका सबै योजनाबाट प्रतिफल नै प्राप्त हुन थालिसक्यो भन्ने होइन । तर, सकारात्मक प्रयासहरू भएका छन् । विगतमा यस्ता प्रयासहरु नभएको अवस्थामा यी कदमहरु अगाडि बढ्नु पनि खुशीको कुरा हो । अब सरकारले यी सेवाहरु कार्यान्वयनमा आएलगत्तै आवश्यक पर्ने स्रोत–साधन, जनशक्ति, उपकरणलगायतका विषयमा समयमै ध्यान दिनु जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update