Shittalpati
आज संयुक्त राष्ट्र संघको स्थापना दिवस मनाइँदै

पाल्पा, संयुक्त राष्ट्रसंघको स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विहीबार नेपालसहित विश्वका सबै सदस्य राष्ट्रहरुले यो दिवस मनाउन लागेका हुन् ।

दोस्रो विश्वयुद्धको समाप्तिपछि सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । सोही दिनलाई सन् १९४८ देखि संयुक्त राष्ट्रसंघ दिवसका रुपमा मनाउन लागिएको हो । विश्वमा शान्ति स्थापना, मानव अधिकारको रक्षा र अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघको स्थापना गरिएको हो । अमेरिकाको न्यूयोर्क शहरमा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघमा हाल १ सय ९३ राष्ट्र सदस्य रहेका छन् । सन् १९७१ मा संयुक्त राष्ट्रसंघको महासभाले स्थापना दिवसका दिन सार्वजनिक बिदा दिएर मनाउन सदस्य राष्ट्रलाई आग्रह गरेको थियो । प्याकेज डिलका रुपमा नेपालसहित १४ वटा देशले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेका थिए । दिवसका अवसरमा नेपालमा रहेका संयुक्त राष्ट्रसंघका निकायले पनि विभिन्न कार्यक्रम गर्दैछन् । युद्धको विभीषिकाबाट विश्व र भावी पुस्तालाई बचाउन आजकै दिन उक्त विश्व संस्थाको स्थापना भएको हो । सुरक्षा परिषद्का पाँच स्थायी राष्ट्र चीन, फ्रान्स, बेलायत, अमेरिका र तत्कालीन सोभियत संघसहितका राष्ट्रले संयुक्त राष्ट्रसंघ स्थापनासम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेसँगै यो विश्व संस्था अस्तित्वमा आएको पाइन्छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update