पाल्पा, जिल्लामा उद्योगी, व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्रहरुको नापजाँच थालिएको छ । पाल्पा उद्योग वाणिज्य संघको समन्वयमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलले तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका र माथागढी गाउँपालिकाको सहयोगमा बुधबारदेखि नापतौल यन्त्रहरु नापजाँच थालेको हो ।
नापजाँच टोलीले जिल्लाका विभिन्न ठाउँहरुबाट ४ दिनसम्म नापजाँचको काम गर्ने छन् । उनीहरुले पहिलो दिन तानसेन र आसपासका उद्योगी व्यवसायीहरुलाई लक्षित गरी वाणिज्य संघको सभाहलमा नापजाँच गरेका छन् । केही ठाउँहरुमा मापदण्ड विपरीतका ढक/तराजु आदि प्रयोग गरेर उपभोक्तालाई ठगी गरेका खबरहरु आइरहेपछि संघले जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका यन्त्रहरुको नापजाँच गर्न पहल गरेको हो । सरकारी निकाय आफैले व्यवसायीहरुले प्रयोग गर्दै आएका यन्त्रहरुको नापजाँच गर्नुपर्नेमा नीजि क्षेत्रले पहल गर्नु परेको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । उनले उद्योगी व्यवसायीहरुको हितका लागि स्थापित संघले उद्योगी–व्यवसायीहरु कारवाही र जरिवानामा नपरुन र सेवाग्राहीहरु कुनै पनि वहानामा नठगिउन भन्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि नापजाँचलाई निरन्तरता दिइएको बताए । अध्यक्ष भट्टराईले बेला–बेलामा स्थानीय सरकारले शिविर सञ्चालन गरेर नाप जाँच गर्नुपर्ने उल्लेख गरे । संघका सचिव विदुर घिमिरेले बेला बेलामा नापतौलका यन्त्रहरु चेकजाँच गराई उद्योगी– व्यवसायीलाई ढुक्क भएर व्यापार व्यवसाय गर्न संघले सहयोग गर्दै आएको बताए ।टोलीले पहिलो दिन यहाँका १ सय ५० जनाको हाराहारीमा व्यवसायीले प्रयोग गर्ने नापतौलका यन्त्रहरुको जाँच गरेको संघका कार्यकारी निर्देशक सुशील प्रधानले एनजेडीलाई जानकारी दिए । उनका अनुसार केही नयाँ व्यवसायीले नापतौलका लागि अनुमति लिएका छन् भने नविकरण गराएका छन् । नापतौल तथा गुणस्तर ऐन, २०२५ र नियमावली २०२७ अनुसार कार्यसम्पादन गरिएको थियो । नापजाँचका क्रममा अहिलेसम्म सबै मापदण्ड अनुसार नै यन्त्रहरु प्रयोगमा रहेको निर्देशक प्रधानले बताए । ऐन र नियमानुसार व्यवसायीहरूको नाप्ने र तौलने यन्त्रहरू जाँच, नवीकरण तथा अनुमतिपत्र वितरण गर्ने गरिएको छ ।
संघले सूचना नै जारी गरी जाँच गर्ने स्थान, समय निर्धारण गरेको छ । जस अनुसार दोस्रो दिन आज टोलीले बगनासलीको आर्यभञ्ज्याङ्गा बजार, रम्भाको ताहुँ, हुँगी पल्टार बजारमा नापजाँच गर्ने छ । यस्तै तेस्रो दिन शुक्रबार रैनादेवी छहराको छहरा बजार, रिब्दीकोटको हार्थोक बजार, र तानसेनको अर्गेली बजारमा नापतौल यन्त्र नापजाँच गरिने संघका लेखा प्रमुख सरोजलाल शाक्यले बताए । उनका अनुसार चौथों दिन शनिबार तानसेनको बर्तुङ्गा, प्रभास र माथागढीको सराईमा जाँच गरिने छ । जिल्लाभर ४ सय बढी व्यसायीहरुको नापतौल यन्त्रहरु जाँच गर्ने लक्ष्य संघले लिएको छ । नापजाँचमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक निराजन पुडासैनी, सहायक निरीक्षक गुरुप्रसाद पोखरेल, सिनियर मिस्त्री सरोज श्रेष्ठ, मिस्त्री मकरध्वज चौधरी र कार्यालय सहायक रमेश रेग्मी सहितको टोली चार दिनसम्म जिल्लामा खटिने छ । नापतौल तथा मापन यन्त्र प्रयोग गर्दा दर्ता तथा नवीकरण अनिवार्य गर्नुपर्ने नापतौल ऐन तथा नियमावलीमा स्पष्ट लेखिएको छ । नियमावली अनुसार ६ कुना भएको ढक, स्प्रिङ तराजु, मानापाथी र ढुङ्गा, इट्टा लगायत कुनै पनि वस्तु प्रयोग गर्न पाइने छैन । तर ऐन नियमावली समय सान्दर्भिक नहुँदा नापतौलमा उपभोक्ता ठगिदै आएका छन् । नियमावलीमा साना व्यापारीले २ वर्षमा र ठूला व्यापारीले १/१ वर्षमा नवीकरण गर्नुपर्ने प्रावाधान छ ।