पाल्पा, पाल्पामा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व पोलियो दिवस मनाइएको छ । रोटरी क्लव पाल्पा तानसेनको आयोजनामा विहीबार विभिन्न संघ संस्था र व्यक्तिहरुको उपस्थितिमा सचेतनामूलक वृहत्त र्याली निकाली पोलियो दिवस मनाइएको हो ।
‘पोलियो अब अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ क्लवले पाल्पा दरबार संग्राहालय परिसरबाट सचेतनामूलक र्याली निकालेको थियो । प्र्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले रिवन काटेर र्यालीको शुभारम्भ गरेका थिए । दरबार परिसरबाट निकालिएको र्याली तेस्रो सडक, विशाल बजार, पेट्रोलपम्प, टक्सार टोल हुदैँ शितलपाटी पुगेर समापन भएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले पोलियो अन्त्यका लागि रोटरी क्लवले देखाएको सक्रियता प्रशंसनिय रहेको बताए । उनले रोटरीको पहिचानलाई कायम राख्ने गरी विश्वभर नै सामाजिक कार्यमा रोटरीयनहरुको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रममा स्थानीय सरकारले समेत क्लवसँग समन्वय गरेर जाने बताए । प्रमुख श्रेष्ठले पोलियो दिवसलाई आगामी दिनमा विद्यालयस्तरमा समेत पुर्याउन क्लवलाई आग्रह गरे । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले सरकारी निकायले गर्ने काम क्लवले सरकारी निकायसँग समन्वय गरेर गरेकोमा खुसी व्यक्त गरे । उनले जिल्लामा पोलियो नियन्त्रणका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने बताए ।
क्लवका अध्यक्ष भिमबहादुर श्रेष्ठले पोलियो रोग उन्मुलन गर्ने विश्वव्यापी महान अभियानमा रोटरी क्लवले महत्वपूर्ण योगदान गर्दै आएको बताए । उनले कुनै पनि बालबालिका पोलियो संक्रमणबाट ग्रसित हुुन नपरोस् भन्ने उद्देश्यले पाल्पामा सचेतनामूलक र्याली निकालिएको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले भने ‘हामीले विश्वभर नै यो दिवस मनाएका छौ। पोलियोको कारण धेरै बालबालिकाको मृत्यु हुने गरेको छ । अझै पनि केही देशहरुमा पोलियोको संक्रमण रहेकाले त्यसलाई नियन्त्रण गर्न हाम्रो क्लवले हरेक वर्ष दिवसका दिन सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।’ रोटरी क्लव विश्वको सबै भन्दा पुरानो संस्था रहेको उनले बताए । क्लवले पोलियो सचेतना कार्यक्रम गरेकै कारण अहिले विश्वबाटै निर्मूल हुने अवस्थामा पुगेको अध्यक्ष श्रेष्ठको भनाई छ । उनले निस्वार्थ भावनाले क्लवले जिल्लामा स्वास्थ्य, शिक्षा, खानेपानी, सिचाँइ जस्ता कार्यक्रममा उल्लेखीय काम गरेको बताए । क्लवका पूर्वअध्यक्ष बुद्धीप्रसाद शर्माले नेपालमा पोलियो नियन्त्रण भयो भनिए पनि केही दिन अघि काठमाडौंमा उक्त संक्रमण देखिएकाले सचेतना नपनाए थप भयावह हुने सम्भावना देखिएको बताए । कार्यक्रममा स्वास्थ्य कार्यालयका फोकल पर्सन विश्वनाथ न्यौपानेले पोलियोको बारेमा जानकारी गराएका थिए । उनले संसारबाट पोलियो रोग उन्मुलन नभएसम्म हामी पनि पोलियो जस्तो घातक रोगको जोखिममा रहिरहने परिस्थिति रहेको बताए ।
न्यौपानेले नेपालमा पनि पोलियोको जोखिम अझै कम नभएकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको उमेरमा नै पोलियो खोप लगाउन आग्रह गरे । पोलियो रोग पोलियो भाइरसबाट हुने संक्रामक रोग भएको उनको भनाई छ । न्यौपानेले भने ‘पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भिर हुन थाल्यो भने पक्षघात हुने तथा मृत्युसम्म हुने गर्दछ । पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । नेपालमा पाँच वर्ष मुनिका बालबालिकालाई मुखबाट र सुइबाट दुई तरिकाले पोलियोविरुद्धको खोप प्रदान गरिँदै आइएको छ ।’ र्यालीमा रोट्रयाक क्लव अफ पाल्पा तानसेनका पदाधिकारी, जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मी, महिला स्वयसेवीका, क्लवका पदाधिकारी, जनप्रतिनिधि र पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । क्लवका अध्यक्ष भिमबहादुर श्रेष्ठको अध्यक्षता, सचिव विनायक महर्जनको सञ्चालनमा समापन कार्यक्रम भएको थियो ।