बुटवल, लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले काँग्रेसका दुई र जसपाका एक मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरणमन्त्री बनाएका छन् । त्यस्तै अशोक राई नेतृत्वको जसपाबाट रूपन्देहीका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका छन् । नवनियुक्त तीन मन्त्रीले विहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ लिएका छन् । मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो ।
तीन महिनामा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भए पनि मन्त्रिपरिषद्ले अझै पूर्णता भने पाएको छैन । सरकारमा सहभागी हुने लोसपा र नागरिक उन्मुक्तिमध्येबाट एक जना मन्त्री बन्ने भए पनि कुन पार्टीबाट पहिला भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन नसकेको हो । लुम्बिनीका सत्तापक्षीय दलले नागरिक उन्मुक्तिलाई पहिलो चरणमै मन्त्री बनाउने प्रयासमा भए पनि केन्द्र्रबाट लोसपालाई बनाउने दवाब बढेपछि तत्कालका लागि एक मन्त्रालय खाली नै राखिएको छ । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित नेकपा (एमाले)का पाँच, काँग्रेसका पाँच र जसपाका एक गरी मन्त्रीको सख्या ११ पुगेको छ । यहाँ १२ वटा मन्त्रालय छन् । जसमा युवा तथा खेलकुद मन्त्रालय अझै खाली छ । प्रदेश सरकारले गत आइतबार प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुसूची १ र २ हेरफेर गर्ने निर्णय गरे अनुसार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सामाजिक विकास मन्त्रालयमै गाभिएको छ । त्यसबाट युवा तथा खेलकुद छुट्टयाएर अर्को मन्त्रालय बनाइएको छ । त्यसमा नागरिक उन्मुक्तिका राजकुमार चौधरीलाई लैजाने काँग्रेसको तयारी भए पनि त्यो तत्कालका लागि रोकिएको छ । खाली रहेको एक मन्त्रालयमा पनि छिट्टै नियुक्त गर्ने तयारीमा प्रदेश सरकार रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
लुम्बिनी प्रदेशमा यस अघि एमाले र नेपाली कांग्रेसका मन्त्रीहरूलाई एकै पटक शपथ ग्रहण गराउने योजना भए पनि अन्तिम समयमा आएर आन्तरिक विवादले गर्दा कांग्रेसको कोटाबाट एक मन्त्री नियुक्त हुन सकेका थिएनन् । शपथ ग्रहणको अन्तिम तयारी भइरहँदा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनालाई मन्त्री बन्नबाट रोकिएको थियो । त्यही बेला नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले मन्त्री छनोट गर्दा एकलौटी निर्णय गरेको भन्दै पार्टी नेतृत्वको चर्को विरोध गरे । यता शपथ ग्रहण गर्ने बेला आफूलाई रोकिएपछि रिसाएका तिमिल्सिनाले पनि प्रमुख सचेतक पदबाट राजीनामा दिएका थिए । त्यतिबेला आर्थिक मामिला तथा योजना मन्त्री बन्ने तयारीमा रहेका तिमिल्सिना तीन महिनापछि अहिले सामाजिक विकास मन्त्री बनेका हुन् । उनलाई सामाजिक विकास मन्त्री बनाउन प्रदेश सरकारले गत आइतबार प्रदेश सरकार कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार उनी अहिले मन्त्री बनेका हुन् । गत साउन ७ मा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले तीन महिना पुग्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा प्रदेश सरकारको काम काजमा असर पुगेको छ । काँग्रेस र एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार गठन भएको थियो ।