गुल्मी, विगत एक महिनादेखि नियमित रुपमा उडान हुन नसकेको गुल्मीको रेसुङ्गा विमानस्थलको उडान पुनः सुरु भएको छ । मौसम खराबका कारण गत असोज ४ गतेदेखि नियमित हुन नसकेको उडान शुक्रबारदेखि भने पुनः सुरु भएको हो ।
अवरुद्ध पछि पहिलो पटक बुधबार उडान भए पनि शुक्रबारदेखि भने नियमित रुपमा उडान सुरु भएको रेसुङ्गा विमानस्थलले जनाएको छ । मौसममा केही सुधार आएको भन्दै पुनःउडान सुरु गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । चाडपर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिन पाएका थिएनन् । विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटक–पटक अवरुद्ध बन्दै आएको छ । गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई उडान प्रभावित हुँदै आएको थियो । पछिल्लो समय भदौ महिनामा केही दिन उडान भएको थियो । तर त्यस यता उडान हुन सकेको थिएन । खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका थिए ।
टिकट काटेर पनि पटक–पटक विमानस्थल पुगेर घण्टौँसम्म पर्खिनुपर्ने तर अन्तिम उडान स्थगित हुँदा यात्रुले सास्ती भोग्नु परेको थियो । रेसुंगा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ ।
यात्रुको अत्यधिक चाप बढेपछि रेसुंगा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको छ । तर पछिल्लो केही समयदेखि बुधबार र शुक्रबार मात्रै उडान भइरहेको जनाइएको छ । नेपाल वायुसेवा निगमले रेसुंगादेखि काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट सात हजार पाँच सय रुपैयाँ भाडा निर्धारण गरेको छ । जिल्लामा गत एक वर्षअघिदेखि व्यावसायिक रुपमा नियमित रुपमा हवाई उडान सुरु गरिएको हो ।