पाल्पा, गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित २७ जना सहसचिव र उपसचिवको सरूवा गरेको छ । गृहले पाल्पा, गुल्मी,रूपन्देही, पर्सा, महोत्तरी, सप्तरी, भक्तपुर र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो ।
जसअनुसार पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलाई गृहमन्त्रालयमा खटाइएको छ भने गृहमन्त्रालयबाट तोय नारायण सुुवेदीलाई पाल्पाको प्रमुख जिल्ला अधिकारीका रुपमा तोकिएको छ । यस्तै मन्त्रालयले गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई जिल्ला प्रशासन कार्यालय पाँचथर कामकाजःकसुरजन्य सम्पति व्यवस्थापन विभागमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । गुल्मीमा उनको ठाउँमा तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई तोकेको छ ।
यस्तै गृहमन्त्रालयबाट बासुदेव घिमिरेलाई रूपन्देही खटाइएको छ भने रुपन्देहीका गणेश अर्याल पर्साको प्रमुख जिल्ला अधिकारीका रुपमा खटिएका छन् । यस्तै लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी तोकेको छ । गृहले भोला दाहाललाई सप्तरी, गोपाल प्रसाद अर्याललाई भक्तपुर र रमेश ढकाललाई ललितपुरको प्रमुख जिल्ला अधिकारी तोकेको छ । त्यस्तै, दोलखामा शिवराम गोलाल, धनकुटामा टुवराज पोखरेल, गोरखामा पुण्य बिक्रम पौडेल, तनहुँमा श्यामकृष्ण थापाको सरूवा गरिएको छ । दिनशेसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् । भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ ।
हेर्नुस्, सूचिसहित