Shittalpati
तिहार र बजार भाउ

फूल, झिलिमिली बत्ति र मिठाइको पर्व मानिने तिहार हिन्दु नेपालीहरुको घर आगनमा आइसकेको छ । व्यापारीहरुले तिहारका लागि आवश्यक पर्ने सामान बजारमा सजाइसकेका छन् । तिहारको चहलपहलले बजार पनि तातिसकेको छ । तिहारमा घर सजाउने झिलिमिली बत्ति, खाद्यन्न, फलफूल, पोसिला ड्राइ फ्रुटदेखि र कृतिम तथा सक्कली फूलका मालासम्मका व्यापार निकै ठूलो हुन्छ । आर्थिक कारोबार अत्यधिक हुन्छ । पैसा बजार प्रवेश गर्छ । तर यही मौकामा महँगी बढेको हुन्छ । यसपालिकै बजार हेरौं । भान्छाका सामग्रीको मूल्य अकासिएको छ । तिहारमा धेरै खपत हुने मैदा, पिठो र चिनीको मूल्य बढी नै छ ।

तिहारमा भाइमसलाको रुपमा धेरै खपत हुने किसमिस, नरिवल, छोकडा र ल्वाङ पनि महँगो भएको छ । काजु, ओखर, सुकमेल, खमना फूल र मम्फूलीको मूल्य भने उस्तै छ । पुरानो स्टकमा रहेका अखाद्य र सस्तो प्रकारका मसला समेत नयाँमा मिसाएर बेच्ने गरेको पाइएको छ । तर, मूल्य भने व्यापारीहरुले उच्च दरमा लिने गरेका छन् । किनमेल बढी हुने मौका छोपेर कतिपय व्यापारी र व्यवसायीले यही बेला कृत्रिम मूल्य तोक्छन् । कतिपयले त छुटका नाममा लुट पनि गरिरहेका हुन्छन् । यही बेला राज्यका निकायहरू बजार अनुगमनमा पनि निस्कन्छन् । तर त्यसबाट मूल्य नियन्त्रण र कालोबजारी रोकिएको देखिन्न । दुई चारजना कर्मचारीका भरमा हजारौं पसलहरूको अनुगमन साध्य र सम्भव हुने कुरा पनि होइन । त्यसका लागि प्रणालीको विकास गर्नुपर्छ र वर्षैभरि बजारको प्रत्यक्ष, अप्रत्यक्ष अनुगमन राज्यका निकायहरूबाट भइरहनुपर्छ । चाडपर्व बजार अनुगमन सघन हुनुपर्छ तर दसैं, तिहार र चाडपर्वमात्रै अनुगमनका अवसर होइनन् । खुला बजार नीतिलाई पछ्याउँदा पछ्याउँदै पनि दैनिक उपभोग्य वस्तुको मूल्यचाहिँ सरकारी नियन्त्रणभित्रै हुनुपर्छ । सरकारले सुपथ पसल पनि खोल्छ । तर ती नाममात्रैका हुन्छन् सुपथ पसल जहाँ खासै धेरै सामग्री पाइन्नन् । चाडपर्वका बेला नाममात्रैका भन्दा पनि खास व्यवस्था राज्यका तर्फबाट हुन सके उपभोक्ताको हित हुन्छ । तसर्थ यसतर्फ सरकारले गम्भीर भएर सोच्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update