Shittalpati
तानसेन नगर सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित

पाल्पा, जिल्लाको तानसेन नगरपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । नगरपालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।

उसले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँबाट समाधान गर्ने प्रयास गरेको छ । नगरपालिकाले गत आइतबारदेखि नगरभित्रका वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो । नगरपालिकाबाट हुने सेवाहरु लिन केन्द्रमा पुग्न नागरिकलाई झन्झटिलो हुनुको साथै समय र खर्चिलो हुने हुँदा वडामै पुगेर सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गर्न थालिएको नगरपालिएकाले जनाएको छ । शिविरबाट नगरपालिकाले योजना सम्झौता, ब्यवसाय दर्ता/नविकरण, नक्सापास/घर कायम, जन्म, बसाईसराइँ, मृत्यु, विवाह दर्ता, सामाजिक सुरक्षा सम्बन्धी सेवा, नागरिकता सिफारिस, जेष्ठ नागरिक परिचयपत्र, अपाङ्गता परिचय पत्र वितरण, विरामी पशुपंक्षीहरुको उपचार, पशु बन्ध्याकरण,पशुजन्य औषधि वितरण, गोवर परीक्षण, पशुहरुमा रेविजविरुद्धको खोप, उन्नतजातको विउ विजन वितरण, विभिन्न अनुदानका सूचना माग गर्ने, कृषक समूह दर्ता/नविकरण, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती परीक्षण, क्षयरोग परीक्षण, सुगर, प्रेसर परीक्षण  लगायतका सेवा प्रदान गरिरहेको छ ।

पालिकाले वडा तहमै पुगेर सेवा प्रवाह गर्न थालेपछि नागरिकहरु पनि उत्साहित भएका छन् । यसरी वडाबाट नै सेवा पाउँदा अत्यन्तै खुसी लागेको बौघापोखराथोकका प्रेम सारुले बताए । उनले शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई घरमै पुगेर नगरपालिकाका कर्मचारीको टोलीले अपाङ्गता परिचय पत्र दिएर सहज बनाइदिएको उल्लेख गरे । आर्थिक अवस्था कमजोर भएर उपचारका लागि अस्पताल जान नसकेकी तेल्घाकी ६० वर्षीया कमला विकलाई गाउँमै आएर चेक जाँच गरी औषधि दिएपछि खुसी छन् । ‘पैसा नभएर अस्पताल जान सकेकी थिइन’ उनले भनिन्– ‘गाउँमा नै सेवा पाउँदा सजिलो भएको छ ।’ उनी जस्ता धेरैले गाउँबाटै सेवा पाएपछि उत्साहित भएका छन् । नगरपालिकाले कार्यालयबाट प्रवाह गरिने सेवा लिन पालिकाको केन्द्रमा नै आउनुपर्ने बाध्यताको अन्त्य गर्न तथा नागरिकलाई सेवा प्रदानमा सहज बनाउन शिविर अभियान सञ्चालन गरी सेवा दिन थालिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । 

उनले भने ‘पालिकामा आएर सेवा लिँदा सेवाग्राहीको समय र पैसा धेरै खर्च हुन्छ, त्यसलाई केही हदसम्म कम गर्न शिविर चलाएका हौं ।’ १२ दिने एकीकृत घुम्ती शिविर बौघापोखराथोकबाट सुरु भएको हो । बन्दीपोखरा, तेल्घा, दमकडामा सेवा दिइसकिएको छ । शिविरमा सेवाग्राहीको उत्साहजनक सहभागिता रहेको उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताइन् । नगरपालिकाबाट प्रवाह हुने सेवाहरुलाई समुदाय र वडास्तरमा सहजै पुर्‍याउने उद्देश्यले वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले बताए । उनका अनुसार कार्तिक १४ गतेसम्म शिविर सञ्चालन हुने छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update