Shittalpati
सत्ताकेन्द्रित खेल बन्द गर

बाढीपहिरो पीडितहरुको लागि राहत र पुर्नस्थापनामा जुट्नुपर्ने सरकार र राजनीतिक दलहरु यति बेला एक अर्काको आलोचना गर्दै सत्ताकेन्द्रीत खेलमा लागेका छन् । प्रतिपक्ष दलहरु सरकार ढलाउने रणनीतिमा लागेका छन् भने सरकार लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कार्य अस्वीकार्य भएको टिप्पणी गर्दै आएको छ ।

प्रतिपक्षी दल माओवादी केन्द्र र रास्वपाको सडक आन्दोलनलाई यति बेला सत्ताकेन्द्रीत आन्दोलनका रुपमा हेर्न थालिएको छ । सहकारीको बचत संगठित रूपमा ठगी गरेको कसुर अनुसन्धानमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा आन्दोलनमा छ । प्रमुख प्रतिपक्षी माओवादीले पनि सरकारका विरुद्ध सडकबाट खबरदारी थालेको छ । सत्ताबाट अनायास बाहिरिनुपरेको पीडाले छटपटिएको माओवादी जसरी पनि अहिलेको गठबन्धन ढाल्ने र आफूहरुसहितको सरकार बनाउने खेलमा सामेल हुन थालेको छ । यसले नेपालको राजनीतिमा थप अस्थिरता आउने हो कि भन्ने आशंकासमेत गर्न थालिएको छ । मुलुकलाई अस्थिरतातर्फ लैजान जस–जसले खेल खेलिरहेका छन् यसले पक्कै पनि कसैको हित गर्ने छैन । अहिले देश कता जाने हो भन्ने आशंका पैदा भएको छ । वर्तमान सरकार बनेदेखि नै सरकार ढल्ने हल्ला चलाएर विपक्षी गठबन्धनलाई एक ठाउँमा ल्याई होहल्ला गर्न सफल भएका माओवादीका अध्यक्ष प्रचण्डले अहिले देशी–विदेशी शक्तिको प्रयोग गरी सत्ता ढाल्ने खेलमा लाग्नु पक्कै पनि मुलुकको लागि राम्रो होइन । राजनीतिक दलप्रति जनताले वैरीभाव जनाइरहेको बेला पुराना दलहरुले गर्ने यस्ता हर्कतले जनतामा थप निरासा जन्माएको छ ।

मुलुकको अर्थतन्त्र कमजोर बन्न पुगेको छ । पछिल्लो समय देशभर देखिएको बाढी पहिरोले आम जनतालाई थप आक्रान्त बनाएको छ । देश यस्तो परिस्थितिबाट गुज्रिरहेको बेला सत्तारुढ दल र प्रतिपक्ष दल एक आपसमा लड्नु राम्रो होइन । सरकारले जनताका पिर मर्का बुझन सकेन । नेताहरु सत्ता कसरी जोगाउने र भत्काउने भन्ने खेलमै लागीरहेका छन् । यो बेमौसमी बाजा किन बजाइएको छ ? यति बेला सत्तारुढ दलको यो गतिविधि देख्दा जनताको आशामा निराशा छाएको छ । चुनावका बेला बोलेका कुरा बिर्सेर नेताहरू सङ्कीर्ण, सत्ता स्वार्थमा लाग्नु राम्रो पक्कै पनि सङ्केत होइन । यसले पार्टीलाई मात्र होइन, देशलाई नै घाटा छ । तसर्थ अहिलेको अवस्थामा यो खेल बन्द गरी जनता र देशको हितमा लाग्नु सरकार र प्रतिपक्षको हित हुने छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update