गुल्मी, गुल्मी क्षेत्र नं. १ का सांसद तथा काँग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले जिल्लाको सत्यवती गाउँपालिका –६ डहरे खोलामा मोटरेवल पक्की पुलको शिलान्यास गरेका छन् । भण्डारीले आइतबार विधिवत पूूजा गर्दै पुलको शिलान्यास गरेका हुन् ।
डहरे खोलामा मोटरेवल पुलको शिलान्यास भएसँगै पुल नहुँदा लामो समयदेखि सास्ति भोगी रहेका यस क्षेत्रका जनताको भावनालाई केही हदसम्म भए पनि सम्वोधन भएको छ ।
भण्डारीकै पहलमा यहाँ पुल निर्माण हुन लागेको हो । रिडी, रुद्रवेणी, बुर्तिवाङ सडकमा पर्ने डहरे खोलामा पुल नहुँदा पैदल यात्री र सवारी साधनलाई ठूलो जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । नेता भण्डारीले पुल निर्माण गर्न बजेट विनियोजनका लागि पहल गरेका थिए ।
पुलको शिलान्यास गर्दै काँग्रेस नेता डा. भण्डारीले यस क्षेत्रका जनताका समस्यालाई मध्ये नजर गरेर हिउँद, बर्षा बाह्रै मास यातायातका साधन निर्वाध रुपमा चल्ने गरी पुल निर्माणको काम अगाडि बढेको बताए । उनले छिट्टै पुल निर्माण हुने विश्वास दिलाए। नेता भण्डारीले विकासका लागि राजनीति गर्न नहुने समेत बताए । देश विकासको सवालमा जनतादेखि राजनीतिक दल, स्थानीय सरकारदेखि संघीय सरकार सबै एकजुट भएर अघि बढेमा विकास निर्माणले ठूलो फड्को मार्ने उनको भनाइ छ । उनले गाउँ–गाउँबाट रोजगारीका लागि गाउँ छाड्नेक्रम बढेर गाउँघर रित्तिँदै गएकाले गाउँघरमै रोजगारीको सिर्जना गरी गाउँ विस्थापित हुनबाट जोगाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रियसभाकी सांसद विष्णु सापकोटाले डहरेखोलामा पुल बने पछि यो क्षेत्रकै विकासमा नयाँ आयाम थपिएको बताईन् । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले माननीय सांसद भण्डारीको पहलबाट भएको यो काम अत्यन्त्यै प्रशंसनिय रहेको धारण व्यक्त गरे । शिलान्यास कार्यक्रममा प्रदेश सांसद चिन्तामणी पाण्डेय, यमु गैरे, नेपाली काँग्रेसका जिल्ला सभापति एवं रेसुुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी, जिल्ला समन्वय समितिका प्रमुख द्रोण खत्री, सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेय लगायतले पुल शिलान्यासपछि कामले गति लिनुपर्नेमा जोड दिए । पुल शिलान्यासले यस क्षेत्रका आम नागरिकमा सहज हुने आशा पलाएको गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत कमल भुषालले बताए ।
२०३६ सालमा सञ्चालित यो यो सडकमा पर्ने नादेवा, भार्से, डहरे, गिदी खोलाका लागि यो बर्ष सडक विभागले २२ करोडको बजेट विनियोजन गरेको छ । डिभिजन सडक कार्यालय पाल्पा अन्तर्गत पुलको राजेश्वरी कन्सट्रकक्सन प्रालि, छत्रकोटले ठेक्का लिएको हो ।