Shittalpati
विकासमा राजनीति नगरौं : सांसद भण्डारी

गुल्मी, गुल्मी क्षेत्र नं.१ का सांसद तथा नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले विकास योजनामा राजनीति नगर्न आग्रह गरेका छन् । आइतबार गुल्मी क्षेत्र नं. १ का विभिन्न ठाउँमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले मुलुकको परिवर्तनका लागि विकास निर्माणमा भइरहेका अनावश्यक राजनीतिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

आफूले विकास योजनाका लागि पहल गर्दै आए पनि अघिल्ला सरकारले बजेट विनियोजन नगर्दा समस्या भएको बताउँदै विकासका योजनामा जो सुकैले पहल र सुरु गरे पनि त्यसलाई निरन्तरता दिनुपर्ने धारणा उनले व्यक्त गरे । ‘जनता सबैका साझा हुन् । विकास सबैका लागि चाहिन्छ,’ नेता भण्डारीले भने, ‘त्यसैले विकास निर्माणका काममा राजनीतिक तिक्तता राख्न हुँदैन ।’ देश विकासको सवालमा जनतादेखि राजनीतिक दल, स्थानीय सरकारदेखि संघीय सरकार सबै एकजुट भएर अघि बढेमा विकास निर्माणले ठूलो फड्को मार्ने उनको भनाइ छ । नेता भण्डारीले गाउँ–गाउँबाट रोजगारीका लागि गाउँ छाड्नेक्रम बढेर गाउँघर रित्तिँदै गएकाले गाउँघरमै रोजगारीको सिर्जना गरी गाउँ विस्थापित हुनबाट जोगाउनुपर्नेमा जोड दिए ।

उनले सत्यवती गाउँपालिका –६ डहरे खोलामा आइतबार मोटरेवल पक्की पुलको शिलान्यास गर्दै यस क्षेत्रका जनताका समस्यालाई मध्ये नजर गरेर हिउँद, बर्षा बाह्रै मास यातायातका साधन निर्वाध रुपमा चल्ने गरी पुल निर्माणको काम अगाडि बढेको बताए ।भण्डारीले छिट्टै पुल निर्माण हुने विश्वास दिलाए । कार्यक्रममा राष्ट्रियसभाकी सांसद विष्णु सापकोटाले डहरेखोलामा पुल बने पछि यो क्षेत्रकै विकासमा नयाँ आयाम थपिएको बताईन् । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले माननीय सांसद भण्डारीको पहलबाट भएको यो काम अत्यन्त्यै प्रशंसनिय रहेको धारण व्यक्त गरे । 

शिलान्यास कार्यक्रममा प्रदेश सांसद चिन्तामणी पाण्डेय, यमु गैरे, नेपाली काँग्रेसका जिल्ला सभापति एवं रेसु·ा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी, जिल्ला समन्वय समितिका प्रमुख द्रोण खत्री, सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेय लगायतले पुल शिलान्यासपछि कामले गति लिनुपर्नेमा जोड दिए । भण्डारीले विधिवत पूजा गर्दै पुलको शिलान्यास गरेका हुन् । डहरे खोलामा मोटरेवल पुलको शिलान्यास भएसँगै पुल नहुँदा लामो समयदेखि सास्ति भोगी रहेका यस क्षेत्रका जनताको भावनालाई केही हदसम्म भए पनि सम्वोधन भएको छ । भण्डारीकै पहलमा यहाँ पुल निर्माण हुन लागेको हो । रिडी, रुद्रवेणी, बुर्तिवाङ सडकमा पर्ने डहरे खोलामा पुल नहुँदा पैदल यात्री र सवारी साधनलाई ठूलो जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । नेता भण्डारीले पुल निर्माण गर्न बजेट विनियोजनका लागि पहल गरेका थिए । पुल शिलान्यासले यस क्षेत्रका आम नागरिकमा सहज हुने आशा पलाएको गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत कमल भुषालले बताए ।

२०३६ सालमा सञ्चालित यो यो सडकमा पर्ने नादेवा, भार्से, डहरे, गिदी खोलाका लागि यो बर्ष सडक विभागले २२ करोडको बजेट विनियोजन गरेको  छ । डिभिजन सडक कार्यालय पाल्पा अन्तर्गत पुलको राजेश्वरी कन्सट्रकक्सन प्रालि, छत्रकोटले ठेक्का लिएको हो । नेता भण्डारीले रूरू क्षेत्र गाउँपालिकाको घ्यूवेसीमा आयोजना गरिएको नेपाली काँग्रेस गुल्मीको पालिकास्तरीय प्रशिक्षण, छत्रकोट गाउंँपालिका –१ हुंगामा तोल्गा भगवती युवा क्लवले आयोजना गरेको क्रिकेट खेलको समापन लगायतका कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update