✍️ज्योतिष मुकुन्द पोखरेल
कुनै पनि परिकार वा खाद्यान्न पकाउने स्थानलाई पाकशाला भनिन्छ। सामान्यतया अग्नितत्त्वको दिशा आग्नेयकोण भएकाले पाकशाला, ग्यारेज पनि आग्नेयकोणमै बनाउनु पर्दछ। आग्नेयकोणको पाकशालामा पूर्वतर्फ फर्किरए पकाउनुपर्दछ न कि दक्षिण, उत्तर वा पश्चिम । पाकशाला अर्थात् भान्साघर आग्नेयकोणमा बनाउन कारणवश सकिएन भने वायव्यकोणमा वा पश्मिचमा बनाउनुपर्दछ। दक्षिणमा भान्साघर बनाइ दक्षिण नै फर्केर भोजन निर्माण गरियो भने त्यस्तो भोजन खाने मान्छेको स्वास्थ्यमा नकारात्मक असर पार्दछ।
खाना पकाउन प्रयोग गरिने पानीको धारो ईशानकोणमा बनाउनुपर्दछ। भान्साघरको चुल्हो आग्नेयकोणमा नै राख्नु पर्दछ। आग्नेयकोणको पूर्वपट्टीको भित्तामा झ्याल अवश्य नै राख्नुपर्दछ। भान्साघरको दक्षिण वा पश्चिममा खाद्यान्न सामग्री राख्नुपर्दछ। फ्रिज भान्साघरको नैऋत्यकोणमा राख्नुपर्दछ। खाना पकाउने भान्सेको पछाडि अर्को कोठामा जाने दैलो पनि हुनुहुँदैन। भान्साघरमा पूजास्थल बनाउनु हुँदैन । भान्साघरमा पूजास्थल बनाउनु पर्ने अवस्था आएमा त्यो कोठाको ईशानकोणमा (घरपट्टीको हृदयभन्दा अग्लो स्थानमा) राख्नुपर्दछ। साथै पूजा गरेर धूपबत्ती निभेपछि पूजास्थलको पर्दा लगाएर मात्र धारा बनाउने गर्नुपर्दछ । फेडसुइले वायव्य, उत्तर र ईशानकोणमा पाकशाला बनाउनु राम्रो मान्दैन । वायव्यकोणमा शैतानको निवास मान्ने हुँदा यसकोणमा पनि पाकशाला बनाउनु हुँदैन भन्दछ। पूर्वी क्षेत्रमा पाकशाला बनाउनु फेडसुइको दृष्टिमा सर्वोपयोगी मानिन्छ। जुन स्थानमा भोजन बनाइन्छ, सोही क्षेत्रमा भोजन गर्नुपर्दछ । घरको सबैभन्दा माथिल्लो जल सय पाकशाला बनाउनु हुँदैन । यस्तो गरियो र पाहुनालाई भोजन गराईयो भने घरको सम्पूर्ण ऊर्जालाई प्रभावित पार्दछ र सकारात्मक ऊर्जा त्यस्ता पाहुनासँगै जान्छ।
भोजन गर्दा भोक मर्दैन तर अघाइन्छ भने यो पनि वास्तुदोष नै हो। यस्तो भएमा पाकशालाको पूर्वपट्टी पोथ्रा हुने फूल लगाउनुपर्दछ। खाद्यान्न अभाव भैरहने भयो भने त्यस्तो पाकशालामा वास्तुदोष रहन्छ । त्यस्तो हुनुको कारण चुल्होमा आगो राम्रोसँग नबल्नु, पाकशाला अँध्यारोमा हुनु, पाकशालाको कुनै पनि पानीको धाराबाट पानी चुहिरहनु आदि दोषले त्यस्तो भएको हो। पाकशाला सफा सुग्घर भएन भने पनि घरमा सह रहँदैन। आर्थिक समस्या आइरहन्छ। यस्तो भएमा पाकशालाको दैलोको सामुन्ने घडी लगाउनु पर्दछ। पाकशालामा काम गर्ने व्यक्तिको दृष्टि पर्ने गरी दैलो हुनुपर्दछ। व्यापारिक व्यवसायिक सफलता चाहने व्यक्तिले टेलिफोन, फ्याक्स, कम्प्युटर दक्षिण वा पश्चिम क्षेत्रमा राख्नुहुँदैन । अध्ययन अध्यापनको लागि पूर्वी क्षेत्रको वास्तुदोष निवारण गर्ने उपाय अपनाउनु पर्दछ। नेता बन्नका लागि पाकशालाको उत्तरपश्चिम कुनालाई योजना बनाउन प्रयोग गर्नु पर्दछ भने अध्ययन अध्यापन गर्न र त्यो सम्बन्धि योजना बनाउनका लागि पूर्वोत्तर क्षेत्रको प्रयोग गर्नुपर्दछ ।
भोजनकक्ष मूलद्वारको सम्मुख हुनु राम्रो हुँदैन । पारिवारिक मेलमिलाप र उन्नतिप्रगतिका लागि परिवारका सबै सदस्यहरूले सम्भव भएसम्म एकै पटक खाना खानुपर्दछ । खाना खाने टेबुल अष्टकोणीय हुनुपर्दछ । जहाँ राखेर खाना खाँदा अष्टसिद्धि प्राप्त गर्ने ऊर्जा मानवलाई मिल्दछ । आयाताकार, वर्गाकार टेबुल राख्नु हुँदैन। खाना खाने ठाउँ फराकिलो आनन्ददायक बीममुनि नपरेको हुनुपर्दछ । भोजनालयमा वा अन्यत्र घरका कुनै कोठामा डुब्न लागेको सूर्य, नाउ आदिका चित्र लगाउनु हुँदैन। राम्रो आकर्षक तैलीय चित्र लगाउनु राम्रो हुन्छ ।
खाना खाने र पकाउने प्रकोष्ठको समतलता समान हुनुपर्दछ । आवश्यकीय टेबुल, कुर्सी, पिरामात्र भोजनालयमा हुनुपर्दछ । घरपतिले दैलो सम्मुख भएर भोजन गर्नुहुँदैन । पत्नी पनि पतिको सामुन्ने नै बसेर खाना खानुपर्दछ । पाकशाला र भोजनालय एक आपसमा नजिक भएर पनि पृथक् हुनुपर्दछ। खाना खाँदा झ्यालतिर ढाड फर्काउनु हुँदैन । भोजनालयमा पंखा, क्रिष्टल लगाउनु राम्रो हुन्छ। भोजनालय र पाकशालामा रहेकादुइवटे द्वार सम्मुख हुनु लाभदायी हुँदैन ।
फेडसुइअनुसार यिन या यांगको सन्तुलनबाट नैुचीु (ऊर्जा) को उत्पत्ति हुन्छ। त्यस्तो ऊर्जाले सकारात्मक प्रभाव पार्दछ। यदि सकारात्मक प्रभावलाई कुनै वस्तु वा पदार्थले अवरोध गर्यो भने उन्नति, प्रगति, स्वास्थ्य, शिक्षा, रोजगारी लगायत सबै क्षेत्रमा नकारात्मक असर पार्दछ ।
खाना बनाउँदा एकाग्र भएर बनाउनु पर्दछ। खाना पकाउँदा पकाउँदै गरेको व्यक्तिलाई पछाडिबाट आएर तर्साउनु हुँदैन । जो वास्तुशास्त्रीय आधारमा दोष मानिन्छ। खाना खाँदा तनावजस्तो महशूस हुन्छ भने पाकशालाको वायव्यकोणमा गुलाबी, रातो रङ्ग भएको पर्दा वा फूल लगाउनुपर्दछ । वैचारिक, तार्किक, व्यापारिक कार्य गर्ने व्यक्तिले योजना बनाउँदा पाकशालाको वायव्यकोणमा बसेर बनाउनु पर्दछ। पाकशाला र भोजनालय एकै ठाउँ भए बीचमा पर्दा लगाउनु पर्दछ। आवश्यकताअनुसार ऐना, घडी, बल्ब, फूलका बिरुवा लगाएर भोजनालयको वास्तुदोष निवारण गर्न सकिन्छ ।
बैठककक्षलाई सुसज्जित बनाउनु पर्दछ। प्राकृतिक उज्यालो भएको बैठक राम्रो मानिन्छ । व्यापार, व्यवसाय, अध्ययन, अध्यापन गर्दा गृहपति उत्तर वा पूर्व फर्केर बस्नु वा उभिनुपर्दछ । आगन्तुक दक्षिण वा पश्चिम फर्केर बस्नुपर्दछ । बैठक कोठा त्रिकोण, षट्कोण, धेरै धरिन (बीम) भएको लाभदायक हुँदैन । गृहपतिले व्यवसायसँग सम्बन्धित कुनै कार्य पनि बीममुनि बसेर गर्नु हुँदैन । यस्तो बैठककोठामा सामानहरू भरिभराउ राख्नु हुँदैन। कोठाको आकारअनुसार बैठक टेबुल वर्गाकार, आयाताकार बनाउनु पर्दछ । दैलोतिर पिठ्यूँ फर्काएर बस्नु हुँदैन ।
अन्य प्रकोष्ठको प्रवेशद्वारको सम्मुख पारेर टेबुल, कुर्सी राख्नु हुँदैन अर्थात् धारे पारेर राख्नु हुँदैन । बस्ने कुर्सीको पछाडि कोठाको झ्याल, दैलो हुनु आत्मविश्वासलाई क्षीण गर्ने कारक तत्त्व हुन् । यसैले झ्याल, ढोकातिर पिठ्यूँ फर्काएर बस्नु हुँदैन । बैठककक्षमा शुभसूचक प्राकृतिक चित्र, आनन्ददायक गमला, फूल आदि लगाउनु पर्दछ । तामाको तार, बाँसुरी, स्वस्तिक आदि पनि लगाउनु वास्तुदोष निवारणको उपाय हो । यस्ता वस्तुको प्रयोग गरी बैठक र भान्साघरको वास्तुदोष निवारण गर्न सकिन्छ ।