Shittalpati
खबरदारी गरौं

यति बेला मुलुक कठिन मोडमा गुज्रिरहेको छ । राजनीतिक पार्टीहरू जुँगाको लडाइँमा व्यस्त छन् । तर जनता मौन छन् । जनताले जनयुद्धको अन्त्यपछि धेरै सपना मनमा सजाएका थिए । त्यस समयमा राजनीतिक पार्टीप्रति जनताको आस्था र भरोसा उच्च थियो । तर अहिले जनताको सपना झुटा ठहरिएको छ । राजनीतिक दलहरु जनताको सेवामा भन्दा पनि सत्ता, शक्ति र भ्रष्टाचारमै केन्द्रीत बन्न पुगे । जसका कारण राजनीतिक दलहरुप्रति आमनागरिकमा वितृष्ण पैदा भएको छ ।

राजनीतिक नेतृत्व तहको जीवनस्तर सडकबाट महलधारी भएको जनताले प्रत्यक्ष र अप्रत्यक्ष देखेका र भोगेका छन् । फलतः राजनीतिको आडमा भ्रष्टाचार मौलायो । राजनीतिक दलहरु सत्ता बनाउने र भत्काउने खेलमै सिमित बन्न पुगे । भएको सरकार ढल्ने र नयाँ सरकार बन्ने विषय केवल सत्ताका आसेपासे, त्यसबाट फाइदा लिन पाउने र नपाउने समूह, सम्बन्धित दलका राजनीतिक कार्यकर्ताको सरोकार मात्र बन्न पुगेको छ । राजनीति आमजनताको सरोकार हुनुपर्ने भनिए पनि राजनीतिक दलका नेता र कार्यकर्ताको क्रियाकलापले गर्दा आममानिसमा राजनीतिप्रति लगावको भावना बढेको देखिँदैन । जसलाई राजनीतिप्रति थोरबहुत चासो छ, तिनीहरु स्वयं वा तिनका व्यक्तिहरुको हितका प्रयोजनले गर्दा हो भन्नुलाई अतिशयोक्तिका रुपमा लिनु नपर्ला । राजनीतिप्रति वितृष्णा र अलगावको भावना उब्जनु देश र जनताको हितको सवालमा राम्रो होइन । तर यो नेपाली राजनीतिको तीतो यथार्थ बन्न पुगेको छ । यसमा तर्क गर्न सकिएला तर तथ्यलाई नजरअन्दाज भने पक्कै गर्न सकिन्न । देश आर्थिक रुपमा अत्यन्त संकट ग्रस्त अवस्थामा गुज्रिरहेको छ । कोभिडका कारण थला परेको व्यापार, व्यवसायीले अझै पनि गति लिन सकेको छैन् । रोजगारी नहुँदा लाखौ युवाहरु देश छोडेर बाहिर गएका छन् ।

प्राकृतिक विपद्मा परेकाहरुलाई सरकारले कुनै राहतका कार्यक्रम ल्याउन सकिरहेको  छैन् । यस्तो अवस्थामा सरकारमा रहेका राजनीतिक दल र प्रतिपक्षमा रहेका दलहरु एक आपसमा आरोप प्रत्यारोपमै उत्रिएका छन् । यो आफैमा विडम्वनाको कुरा हो । अब जनता चुप लागेर बस्नु हुँदैन । सरकार र राजनीतिक दलप्रति खबरदारी गर्न आवश्यक छ । राजनीतिक दलहरुको अकर्मण्यता र स्वार्थको लडाइँले जनताले कदापी दुःख पाउनु हुँदैन । यसका लागि जनस्तरबाटै खबरदारी गर्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update