पाल्पा, हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहारको यमपञ्चक आजबाट सुरु भएको छ । यद्यपि, आज काग तिहार भने होइन । काग तिहार भोलि परेको छ ।
आजबाट यमपञ्चक सुरु भएकाले बडा दसैँको लगत्तै आउने नेपालीहरूको अर्को महत्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ । यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन् । आज धन त्रयोदशी अर्थात् धनतेरस पनि हो । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ । यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ । धन्तेरसको व्रत बसेर पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ । धन्तेरसको दिन कमलको पुष्पा सनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । यस दिन भाँडाकुँडा खरिद गर्दा जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्व उत्तर दिशा (ईशान कोणमा) लगेर राख्नुपर्ने मान्यता छ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिँदैन । यसो गर्नाले कुबेरजी प्रसन्न भई घरमा विराजमान हुने विश्वास छ ।
धन्तेरसको दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमल गट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ धार्मिक विश्वास छ । यस दिनबाट लक्ष्मी उत्सव सुरु हुने भएको हुनाले आज पनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्वपूर्ण मानिन्छ ।