Shittalpati
बर्दाकोट गाउँका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा

पाल्पा, जिल्लाको रामपुर नगरपालिका–१ बर्दाकोट गाउँमा स्वास्थ्य सेवा विस्तार गरिएको छ । नागरिकमा स्वास्थ्य सेवा पहुँच वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले गाउँ गाउँमा स्वास्थ्य सेवा विस्तार गरेको हो ।

 स्वास्थ्य संस्थासम्म पुग्न धेरै समय लाग्ने भएकाले बर्दाकोट गाँउमा अब हरेक महिनाको २ दिन गाँउमै स्वास्थ्यकर्मी सहितको टोलीले स्वास्थ्य सेवा दिने भएको छ । सेवाको शुभारम्भ गर्दै नगर प्रमुख रमण बहादुर थापाले स्वास्थ्य मानविय  जीवनको महत्वपूर्ण विषय भएको भन्दै नगरवासीको स्वास्थ्य सेवा र सुविधाका लागि रामपुर नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताए । उनले सिमित स्रोत र साधनकाबिच पनि नागरिकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्दै आई रहेको उल्लेख गरे । स्वास्थ्य सेवा लिन पाउने नागरिकको नैसर्गिक अधिकारको सुनिश्चितताका लागि स्वास्थ्य संस्थाबाट टाढा रहेको बर्दाकोट गाँउमा सेवा विस्तार हुनु नागरिकको लागि सुखद पक्ष रहेको उनले बताए । साथै उनले महिनाको २ दिन दिईने सेवालाई छिट्टै प्रत्येक दिन नियमित सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उपप्रमुख बाल कुमारी थापाले ग्रामीण क्षेत्रका जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले विस्तार गरिएको सेवाबाट स्वास्थ्य लाभ लिन अनुरोध गरिन् । सामान्य जाँच तथा उपचारका लागि पनि धेरै समय खर्चेर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै वडा कार्यालयले विस्तार गरेको स्वास्थ्य सेवा कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको थापाले उल्लेख गरिन् ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले वडा कार्यालय र आफु संधै वडाबासीको आवश्यकताको विषयमा गम्भिर रहेको भन्दै गाउँमा बसेका ज्येष्ठ नागरिकसँगै अन्य वडावासीको सुविधाका लागि गाउँ–गाउँमा स्वास्थ्य सेवा विस्तार गरिएको बताए । स्वास्थ्य सेवा लिन जानका लागि समय खर्चिनु पर्ने र हिँडेर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै सेवा सहजताका लागि गाउँमै मासिक २ दिन स्वास्थ्य जाँच तथा उपचार एवं सामान्य औषधि वितरण गरिने उनले जानकारी दिए । कार्यक्रममा समाजसेवी पुनबहादुर सारुले सामाजिक सुरक्षा भत्तासँगै स्वास्थ्य सेवा पनि घर आँगन मै प्रदान गरेकोमा धन्यवाद दिंदै सेवा लिन पाउँदा खुसी लागेको बताए । कार्यक्रममा १८ जना नागरिकले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएको गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले जानकारी दिए । वडा अध्यक्ष कपिल बहादुर खाँणको अध्यक्षता, कार्यपालिका सदस्य देवका पोखरेलको स्वागत, वडा सचिव प्रेम पाठकको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update