आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ । काग तिहारको आफ्नै महत्व छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घरवरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । आजको दिन कागलाई दहीभात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ ।
धर्मशास्त्र अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म, मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ । काँ काँ गरेर चर्को र झर्कोलाग्दो स्वरमै भएपनि कागले सन्देश बोकेर ल्याउने जनश्रुति रहेको छ । कागको पूजाआजा गर्दै आँउदो वर्षभरि कागले आफ्नो घरआँगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ । यसले हाम्रो ‘इकोसिस्टम’मा पनि ठूलो योगदान दिन्छ । त्यस्तै प्रकृतिको लागि पनि काग एउटा नभई नहुने पन्छी हो । हामीले लगाएको बालीनालीलाई हानी गर्ने किरा फट्याङ्ग्राहरुलाई खाइदिएर कागले अन्न उत्पादन बढाउन सहयोग गर्छ । यसर्थ काग तिहारको प्राकृतिक तथा धार्मिक रुपमा महत्व रहेको छ ।