Shittalpati
तिहार सुरू, आज काग तिहार

पाल्पा, नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार मंगलबारदेखि विधिवत् रुपमा सुरु भएको हो । यमपञ्चकको दोस्रो दिन आज काग तिहार हो । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । मंगलबारदेखि यमपञ्चक सुरु भए पनि आज काग तिहार परेको नेपाल पञ्चा· निर्णायक विकास समितिले जनाएको छ । कागलाई यमदूतको रुपमा पनि पुज्ने चलन रही आएको छ । यमराजले मानिसको मृत्युपछि उसको कर्मका आधारमा सजाय दिने हुनाले कागले सहि सन्देश देओस् भन्ने हेतुले कागबली दिने चलन छ ।

अत्यन्त चलाख पक्षीका रुपमा रहेको कागलाई सन्देशको बाहक मानिन्छ । कागलाई मिठा मिठा खानेकुरा खान दिई पुजा गरेर काग तिहार मनाइने चलन छ । पौराणिक कथा अनुसार कागले सन्देशवाहकका रुपमा मानवजातिलाई सहयोग गरेको मान्यता अनुसार कागलाई पुज्ने गरिन्छ । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विभिन्न शब्दले जोड्ने गरिन्छ । खुसीयाली र उम· बोक्ने चाड तिहारमा देउसी भैलीको रमझम, घर–घरमा गरिने दीपावली, विभिन्न फुलको प्रयोग, विभिन्न पशुपंक्षीको पुजा एवं दाजुभाई तथा दिदी बहिनीको माया स्नेह यो चाडले झल्काउने गरेको छ । यसैगरी आजै धनवन्तरी जयन्ती पनि मनाइन्छ । यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । 

भाइटीकाको शुभ साइत ११ः३७ बजे
यस वर्षको भाइटीकाको साइत यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चा· निर्णायक विकास समितिले जनाएको छ । भाइटीका लगाउँदा पश्चिम मोहडा गरेर लगाउनुपर्ने छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु भएको हो । मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइएको छ । यमदीपदान भने कात्तिक १४ गते अर्थात् आज परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ । कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवद्र्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update