देश बनाउने सन्दर्भमा हामी आफू बाहेकको अन्य पक्षको जिम्मेवारी र कर्तव्य हो भनि ठान्ने हाम्रो मानसिकता जबसम्म त्याग्न सक्दैनौ तबसम्म देश वा जिल्ला वा आफ्नो पालिका बन्दैन भन्ने निष्कर्षमा पुग्नु पनि अन्यथा हुदैँन अब । हामी परिवर्तन चाहान्छौं वा हामी परिवर्तन चाहान्छौं वा परिवर्तन आवश्यक छ मात्र भन्छौं तर यो परिवर्तनमा म पनि सहभागी हुन्छु वा परिवर्तन हुन् वा गर्न म पनि सक्छु भनेको देख्दैनौ वा सुन्दैनौ । जब हामीमा "we want change and we can change" भन्ने संकल्पलाई आत्मसाथ गर्ने साहस र आट आउनेछ तत्पश्चात हामीले खोजेको परिवर्तन सम्भव हुनेछ । यसका लागि के गर्ने त भन्ने जिज्ञासा पनि आउन सक्छ त्यसका लागि सामान्यतया निम्न पहलहरुमा आफ्नो प्रत्यक्ष संलग्नता राख्यौं भने त्यसबाट आउने परिवर्तन र प्रभाव हेरौंन ।
अब एकैछिन उल्लेखित संकल्पित संलग्नता पश्चात आउने परिणामका सन्दर्भमा पाल्पालाई केन्द्रविन्दुमा राखेर कल्पित तर सम्भव परिणाम हेर्ने कोसिस गरौं । परिणाम प्राप्तिका लागि पहिले जिल्लाको आवश्यकता के हो ? हरेक पालिकाले अवलम्वन गरेका कार्यनीति एवं कार्ययोजना कस्ता छन् ? समग्र पाल्पाको विकास अवधारणा, नीति तथा रणनीति केहो र मुख्यरुपमा विभिन्न क्षेत्र सम्वद्ध आन्तरिक तथा बाÞय लगानी रणनीति के हो ? भन्ने सन्दर्भमा सामान्य जानकारी राख्नु आवश्यक हुन्छ । यसका लागि हरेक पालिकाले तय गरेको आफ्नो प्राथमिकता, लक्ष्य र उद्देश्यहरुले नै जिल्लाको विकास सुचांक वा जिल्लाको कुल ग्राहस्थ्य उत्पादन (जिडीपी), आर्थिक विकास दर, मानव विकास सुचांक र समग्र मुलुकमा पाल्पाको अवस्था झल्किने हुन्छ । यदी ७७ जिल्लाको विकास दरमा पाल्पाको स्थान अग्रीणी देख्ने चाहाना राख्ने हो भने हरेक पालिकाले आफुद्धारा अवलम्वन गरिने नीति, रणनीति, कार्ययोजना र कार्यनीतिमा एकरुपता ल्याउनै पर्ने हुन्छ ।
जिल्लाको विकास पहिचानमा स्थानीय सरकारको भूमिका र योगदान :
संविधानप्रदत्त अधिकार प्रयोग गर्दै स्थानीय विकास र जनसेवाका हरेक पक्षहरुको विकासमा केन्द्रित हुनु स्थानीय सरकारको मुख्य दायित्व हो । स्थानीय सरकार वा पालिकाहरु सिमित साधन र श्रोतको परिधि भित्र रहेर आफ्ना हरेक सम्भावनाहरुको उच्चतम पहिचान र परिचालन रणनीति तयार गर्नुपर्ने हुन्छ । यसको मतलव यो होइन की पालिकाहरु केही गर्न सक्दैनन् । पालिका प्रतिनिधिहरुको सोच, अवधारणा, क्रियाशिलता, इच्छाशक्ति र संकल्पित समर्पण एवं रणनीतिक क्षमता प्रदर्शन गर्न तथा समन्वयात्मक परिचालन गर्ने अवसर प्रशस्त छ । यसको उच्चतम उपयोग गर्ने हो भने कुनै पनि श्रोतको अभाव हुदैँन किनकी पालिका भन्दा माथि प्रदेश र संघीय सरकार रहेका छन् भने उचित र फराकिलो नीति भएमा देशी विदेशी लगानीका लागि नीजि क्षेत्र तयारी अवस्थामा रहेको अवस्था छ । यसर्थ हरेक पालिकाले उद्यम, उद्यमशिलता विकास र स्वरोजगार, पालिका भित्रका हरेक नागरिकको क्षमता पहिचान, अभिलेख र परिचालन रणनीति, प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाहरुको संरक्षण र उपयोग , कला संस्कृति, साहित्य, खेल विकास नीति, उत्पादन र आत्मनिर्भर रणनीति, बन र बनजन्य सम्भावना र उपयोग, पर्यापर्यटन, ग्रामीण पर्यटन, अन्य विधागत पर्यटनका सम्भावनाहरुको पहिचान र परिचालन रणनीति, प्राकृतिक श्रोत एवं खानीहरुको पहिचान र परिचालन, फोहर व्यवस्थापन र आयवृद्धि, स्थानीय सिप, कला र उत्पादनको सम्वद्र्धन र बजारीकरण, शहरी विकास र बजार केन्द्रको विकास जस्ता क्षेत्रहरुको परिचालनबाट स्थानीय सरकार आफ्नो आयवृद्धिका नयाँ सम्भावना मात्र होइनन् बाह्य लगानीका लागि आकर्षक क्षेत्र पनि हुन् । यि र यस्तै सम्भावनाबाटै स्थानीय सरकार सबल र समृद्ध बन्न र बनाउन सकिन्छ । यस्तै विभिन्न नयाँ–नयाँ अवधारणाहरुद्धारा नै जिल्लाको विकास अवधारणा र विकासस्तरको पहिचान हुने हुन्छ । राष्ट्रका हरेक तथ्यांकमा जिल्ला अग्रीणी देखिने हुन्छ ।
स्थानीय गैरसरकारी संघ संस्थाहरुको भूमिका र योगदान :
उद्योग वाणिज्य क्षेत्र र उद्यम विकास : उद्योग वाणिज्य क्षेत्र सरकारको छाँया पनि भनिन्छ । सरकारले अवलम्वन गर्ने हरेक कार्यक्रम र नीतिको प्रत्यक्ष प्रभाव यस क्षेत्रलाई पर्दछ र सरकारको नीति अनुरुप यो क्षेत्रले आफ्नो वित्तिय लगानी गर्ने/नगर्ने निर्णय गर्ने हुनाले सरकारसँग मिलेर राष्ट्रिय नीतिलाई मद्धत गर्ने र सरकारले गर्न नसक्ने काम नीजि क्षेत्रले गर्ने हुनाले सहयात्री पनि हो र छाँया सरकार पनि हो नीजि क्षेत्र । यसर्थ नीजि क्षेत्रले ब्यापारमा मात्र केन्द्रित नभई सरकारी, गैरसरकारी, विदेशी तथा अन्य समूहगत लगानीका लागि क्रियाशिल बन्नु पर्दछ । नयाँ उद्यम विकास, उद्यमशिलताको विस्तार र बजार विकाससँगै लगानी आकर्षण र अभिवृद्धि योजना सञ्चालनमा आफ्नो लक्ष्य केन्द्रित गर्न जरुरी छ । जिल्लामा रहेका विभिन्न वित्तिय संस्थाहरु (सहकारी, फाइनान्स, बैंक, लघुवित्त संस्था)हरुसँग नियमित सम्पर्क समन्वयमा रही लगानी क्षेत्र र अवसरका बारेमा छलफल गर्न कुनै अप्ठेरो मान्नु हुँदैन किनकी ती संस्थाहरु लगानीकै लागि सञ्चालित रहेका हुन्छन् । यो उसको आफ्नो कार्यक्षेत्र पनि हो । जहाँ निजी क्षेत्र र स्थानीय सरकारविच व्यवसायिक सम्बन्ध रचनात्मक रहन्छ स्थानीय अर्थतन्त्रमा समेत निकै गतिशिलता देखिन्छ । सार्वजनिक नीजि साझेदारी नीति अगाडि बढाउने प्रथम दायित्व पनि निजी क्षेत्रको हो । नीजि क्षेत्र सिर्जनात्मक र आर्थिक विकासका लागि व्यग्रता प्रदर्शन गरेको स्थानको आर्थिक गतिविधिले स्थानीय सरकारको गहिरो ध्यानाकर्षण समेत गरेको हुन्छ ।
रेडक्रस र मानवीय सेवा : मानविय र आपतकालिन अवस्थामा गुहारिने मात्र होइन आश्रयको रुपमा रेडक्रसलाई लिइन्छ । विभिन्न अस्पतालमा विरामीका लागि आवश्यक विभिन्न प्रकृतिका रगत उपलव्ध गराउने र सोका लागि नागरिकबाट रगत संकलन गर्ने कार्यमा विश्वास आर्जन गरेको छ । यसर्थ यो संस्थाले अस्पतालका लागि आवश्यक रगत उपलव्ध गराउन ब्लड बैंक सञ्चालन र रक्तदाताको नामावली संकलन गरी जुनसुकै समयमा पनि रगतको अभावमा कुनै पनि विरामीले मृत्यूवरण गर्न नपरोस् भन्ने विश्वासिलो अवस्था सिर्जना गर्न सक्नु पर्दछ । साथै अन्य विपत्तिका समयमा आवश्यक मानवीय सेवा पुर्याउने गरी तयारी अवस्थामा रहन सक्यो भने रेडक्रसले जिल्लाको मानवविकास सुचाकंमा समेत योगदान गर्ने हुन्छ । जेसिस र नेतृत्व विकास : नेतृत्व विकास, सुशासन, रुपान्तरण, जिम्मेवारी र उत्तरदायित्वका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यो संस्थाले जिल्लाको राजनीतिक, सामाजिक तथा विभिन्न क्षेत्रमा संलग्न रहेर समाज रुपान्तरणमा संलग्न व्यक्तित्वहरुमाझ राम्रो समन्वयात्मक भूमिका प्रदर्शन गरी आफ्नो लक्ष्य र उद्देश्य पुरा गर्न सक्दछ । यति मात्र गरे पनि यो संस्थाले स्वस्थ समाज रुपान्तरणमा ठूलो योगदान प्रदर्शन गरी जिल्ला विकासको सूचाकंमा गणनायोग्य स्थान हासिल गर्ने देखिन्छ । यसैगरी समाज परिचालन र रुपान्तरणमा रोटरी तथा लायन्स जस्ता संस्थाले समेत सकारात्मक परिवर्तनका लागि योगदान गर्ने छन् ।
फूटवल संघ र जिल्लाको फूटबल विकास : अहिले विश्वसामू राष्ट्रको पहिचानमा ठूलो भूमिका निर्वाह गर्ने खेलकुद क्षेत्र बनेको छ । जहाँको खेलकुद प्रतिष्पर्धा र सवल छ त्यो राष्ट्रलाई हेर्ने विश्वनजर पनि फरक देखिन थालेका छन् । यसैगरी जिल्लाको पहिचानमा पनि खेलकुद क्षेत्रको सबै भन्दा आकर्षक खेल फूटबलले पाल्पामा गौरवमय इतिहासलाई कायम राख्न सक्छ । प्रदेशको एक मात्र पहाडी जिल्ला जहाँ हरेक मौसममा कुनै पनि खेल खेलाउन सकिने हुनाले संघकै नेतृत्वमा खुला स्टेडियमको रुपमा टुँडिखेल र कुन्सरेमा बन्दै गरेको विशाल स्टेडियमको निर्माण र व्यवस्थापन साथै रामपुर लगायतमा निर्माण पहल गर्न सक्छ । त्यतिमात्र नभइ हरेक हप्ता प्रादेशिक तथा राष्ट्रिय र जिल्लास्तरिय खेल प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । खेल पर्यटनको अर्को आकर्षक र प्रभावकारी विधा बन्दै गइरहेको सन्दर्भमा फूटबलका नयाँ नयाँ विधा र क्षेत्रहरुको पहिचान गरी जिल्लाका प्रायः सम्भाव्य सबै स्थानहरुमा व्यवस्थित र व्यवसायिक खेलको प्रारम्भ समेत हन सक्छ । क्लवहरुको विकास र प्रतिष्पर्धी खेलाडीको उत्पादनबाट जिल्लाले राष्ट्रिय पहिचानमा नयाँ अवसर पाउने छ । यसका लागि जिल्ला फूटबल संघले चासो पनि प्रदर्शन गरिसकेको छ । यसबाट जिल्लामा फूटवल खेलले नयाँ खेल विकास आयाम प्रारम्भ गर्ने छ । भलिबल संघ र विद्यालय एवं क्लव विकास : नेपालको राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको भलिबल खेलले बच्चाहरुको मस्तिष्क विकासदेखि स्फूर्तः र स्वस्थ नागरिक उत्पादनमा मद्धत गर्दछ । हरेक विद्यालय, टोल र वडामा क्लवहरुका माध्यमबाट यसलाई थप विस्तार गर्न सकिन्छ । यसैगरी कालिगण्डकी नदी किनारमाबिच भलिवल समेत हुन सक्ने प्रमाणित सम्भावनालाई अगाडि बढाउन सकेबिच भलिबलमा राष्ट्रिय टिमको उत्पादन हुने र सो राष्ट्रिय गौरवको पक्ष समेत रहन्छ । यही सम्भावनालाई बुझेर तानपा र बगनासकाली गापाले हबको रुपमा विकास गर्ने प्रतिवद्धता गरिसकेका छन् । भलिबल संघ यसका लागि जिल्लामा भलिबल विकास अवधारणा बनाई सबै पालिकाहरुसँग समन्वय र सहकार्य गर्न सक्छ र यो जरुरी पनि देखिन्छ । ब्याटमिन्टन संघ सक्षम जनशक्तिको परिचालन : जिल्लामा राम्रो व्याटािन्टन स्टेडियम समेत बनिसकेको र राष्ट्रिय प्रतिष्पर्धाहरुमा सहभागिता जनाउँदै आएका खेलाडी समेत रहेको पाल्पाले अझ थप धेरै गर्न सक्छ । यसैगरी क्रिकेट संघको सक्रियताले युवा आकर्षण थप्न सक्छ । अन्य खेल सम्वद्ध संस्थाहरुको क्रियाशिलताले जिल्लाको पहिचानमा टेवा पुर्याउन सक्छन् ।
यहाँ उल्लेख गरिएका विधागत संघहरुले जिल्लामा आफ्नो अवस्था, खेलाडीको अवस्था, खेलमैदानको अवस्था र सम्वद्ध खेल विकास अवधारणा तयार पारी हरेक पालिकाहरुसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने संकल्प र रणनीति तयार पारी छलफल अगाडि बढाउन सहजै सक्छन् । यो आलेखमा उल्लेख गरिएका सबै सम्भावनाहरु सहजरुपमा अगाडि बढाउन सकिने छन् । यीनीहरुको आपसी समन्वय, सहकार्य र सामुहिक संकल्पमा अगाडि बढ्न सक्नु पर्दछ । कसले चाहँदैन आफ्नो वार्ड, पालिका र जिल्ला विकास सूचाकंमा अगाडि देख्न ? यसर्थ जिल्लामा सार्वजनिक चासोमा क्रियाशिल सबै नागरिक, संघ संस्था तथा पालिकाहरुले एकपटक यसबारे विचार गरौं र जिल्ला विकास अवधारणा निर्माण र कार्यान्वयनमा सामेल हुने वातावरण बनाऔं । अब वि वान्ट चेञ्ज मात्र होइन वि क्यान सेन्ज पनि भन्न सक्नु पर्दछ । (लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् ।)