Shittalpati
मनाइयो काग तिहार

पाल्पा, कागलाई पूजा गरी मीठा–मीठा खान दिएर काग तिहार मनाइएको छ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने यो पर्व बुधबार मनाइएको हो ।

बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिइएको थियो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर यस दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घरवरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । कागलाई दहीभात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससहित तिहार पर्वअन्तर्गत  कागको पूजा गर्ने परम्परा गाँसिएको हो । काग तिहार पर्वदेखि हिन्दू धर्मावलम्बीको दोस्रो चाड यमपञ्चक (तिहार) सुरु हुने भए पनि यसवर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक आरम्भ भएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update