Shittalpati
तिहारलाई झिनियाँ : पाल्पाका महिलालाई बनाउन भ्याइनभ्याई

पाल्पा, तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला पाल्पाका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् ।

तानसेन नगरपालिका टक्सार टोलककी झिनिया व्यवसायी निर्मया श्रेष्ठलाई अहिले झिनियाँ रोटीको व्यापारले भ्याइनभ्याई छ । उनले एक दशकदेखि व्यावसायिक रूपमा झिनियाँको व्यापार गर्छिन् । अहिले झिनियाँले श्रेष्ठको घरको पेटी र छत राताम्य बनेको छ भने राम्रो व्यापार भएपछि मनमा खुसी छाएको छ । उनले बिहान–साँझको फुर्सदमा झिनियाँ बनाउँछिन् । दसैँ र तिहार राम्रो व्यापार हुने भएकाले झिनियाँबाट डेढ–दुई लाख आम्दानी भइरहेको छ । सोही ठाउँकी नारायणीदेवी बज्राचार्यले पनि तीन दशकदेखि झिनियाँ बिक्री–वितरण गर्दैै आएकी छिन् । दसैँ–तिहारमा मात्रै साढे तीनदेखि ६ लाखको झिनियाँ बिक्री हुने उनले बताइन् । उनले बजारको कुनै समस्या नै नभएकाले उत्पादन गर्न सके राम्रो नै आम्दानी हुने बताइन् । उनीहरु जस्तै जिल्लाका निस्दीको गल्धा, रामपुर नगरपालिका, रम्भा, माथागढी, तानसेन नगरपालिका, रिब्दीकोट, बगनासकालीलगायतका पालिकाका महिलाहरु यति बेला झिनियाँ बनाउन र विक्री गर्नमै व्यस्त छन् । उनीहरुले यही रोटी बनाएर बिक्री गरी चाडपर्व मनाउने, घर खर्च चलाउने गर्दै आएका छन् ।

अहिले यहाँका अधिकांस घरहरुको छत÷छाना, कौसीहरुमा झिलिमिलि झिनियाँ सुकाएको देख्न सकिन्छ । तानसेन नगरपालिका– ३ टक्सारटोलका अधिकांस घरहरु यति बेला झिनियाँले सजिएका छन् । नेवारी समुदायमा बढी चलनचल्तीमा रहेका झिनियाँ रोटी तिहारका लागि तयारी अवस्थामा राखिएको छ । तानसेनका हरेक गल्ली गल्ली, पसल पसलमा रङ्गी विरङ्गी झिनियाँ रोटी राखिएका छन् । एक हप्तादेखि पाल्पाका अधिकांश पसलहरूमा झिनियाँ रोटीको व्यापार सुरु भएको हो । तिहारको आगमनसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको छ । तिहारमा रोटीको परिकारलाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन छ । यहाँ उत्पादित झिनिया रोटी चामलको पीठोलाई पकाएर मेसिनबाट पीठोको रेसा निकालिन्छ ।

त्यसलाई चाउचाउ जस्तै गोलो आकारमा निर्माण गरी २–३ दिनसम्म घाममा सुकेपछि झिनिया बजारमा बेच्न योग्य हुने गर्दछ ।  तानसेनको टक्सारमा उत्पादित झिनियाले तिहारका बेला राम्रो बजार पाउँदा झिनिया उत्पादन गर्ने यहाँका महिलाको आयआर्जन समेत बढ्न थालेको छ । फुर्सुदका बेला झिनिया उत्पादन गर्दै आएका महिलाले दर्जनको ५० रुपैयाँदेखि ८ सय सम्म बेच्दै आएका छन् । तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रुपमा झिनियाँ तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनियाको  व्यापार फस्टाउँदो छ । 

दसैं अघिदेखि नै झिनियाँ रोटी बनाउने र बिक्री गर्दै आएको रामपुर नगरपालिका–५ की लक्ष्मी श्रेष्ठले बताइन । उनले रोटीको माग अत्याधिक रहेकाले  बजारको कुनै समस्या नरहेको बताइन् । ‘हामीले बनाउने रोटी पु¥याउनै नसक्ने अवस्था छ,’ श्रेष्ठले भनिन् ‘धेरै स्थानबाट माग आउने गर्छ । तर पठाउन सबैलाई सक्दैनौँ ।’ आफैंले उत्पादन गरेको नपुगेर अन्य महिलाले बनाएको खरिद गरेर समेत पठाउने गरेको उनले बताइन् । पाल्पाबाट उत्पादित झिनिया गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहुँलगायतका जिल्लामा ठूलो मात्रमा आयात हुँदै आएको झिनिया व्यवसायी बताउँछन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update