Shittalpati
महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइँदै

पाल्पा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती विहीबार आज बार स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष लक्ष्मी पूजाका दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ ।

आज नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा काठमाडौंको डिल्ली बजारमा जन्म भएको थियो । स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उनको सम्झना गरिँदै छ । नेपाली साहित्य अनि वाङ्मयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । उनका अमर कृतिहरूः मुनामदन, कुञ्जिनी, शकुन्तला लगायतका कृति छन् । वि.सं २०१६ सालमा उनी यो संसारबाट बिदा भएका थिए । सानै उमेरदेखि कविता लेख्न थालेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा उनी स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक पनि हुन् । देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ ।

उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साकृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसाग तुलना गरेका थिए भने नाट्य सम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत देवकोटाले महत्वपूर्ण योगदान दिएका थिए । विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नू/गराउनू र वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update