Shittalpati
प्रमुख र उपप्रमुख किसानका घर गोठमा

जगदीश भट्टराई
गल्याङ, गल्याङ नगरपालिकाले नगरका एघारै वडाका सानाकिसानका समस्या वुझन प्राविधिक टोली सहित घरदैलो अभियान शुरु गरेको छ । अभियानलाई कृषक संग, कृषि प्राविधिक,, नामाकरण गरिएको छ । चाडपर्वका समयमा प्रत्येक किसान परिवारको घरमा मेयर र उपमेयर पुग्दा किसानहरुमा उत्साह जागेको छ । प्रत्येक वडामा तीन देखि सात सम्म गरी अहिले सम्म ६८ टोलमा कार्यक्रम भएपछि स्थानीय कृषकहरुमा उत्साह छाएको गल्याङ नगरपालिकाको कृषि शाखाले जानकारी दियो । नगर प्रमुख गुरुप्रसाद भट्टराईले गएको वर्ष जस्तै यस वर्ष पनि कृषकसँग कृषि प्राविधिक कार्यक्रम शुरु गरिएको बताए ।
  पशुपालक र सामान्य कृषिकर्म गर्ने परिवारका घर दैलो र करेसामा पुगेर  प्रत्यक्ष गुनासा र प्राविधिक समस्या सुन्ने र समाधान गर्दा कृषकहरु खुसी भएका देखिए, नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए । 
 प्रमुखका अनुसार, तल्लो वर्गका कृषकसम्म पुग्न र त्यहाँ भएका प्राविधिक समस्या समाधानका लागि पालिकाले यो अभियानलाई प्रभावकारी वनाउँने सोंच अनुसार थालिएको हो । नगरप्रमुख भट्टराईले,’ गाउँमा एक या दुई भैसी बाख्रा पाल्ने साना किसानहरुलाई पालिका छ, स्थानीय सरकार छ, गुनासा राख्ने ठाउँ पनि छ, भन्ने जानकारीका लागि नगरपालिकाले कृषि र पशु प्राविधिक सहितको टोली टोल टोलमा लगेको हो,। 
 फर्म सञ्चालन गरेका कृषकहरु पालिकाबाट सुविधा लिएको तर साना किसानले लाभ लिन नआउनुका कारण वारे पनि कृषि प्राविधिक र शाखालाई जानकारी होस भन्ने सोंचका साथ यो अभियान अगाडि बढाईएको प्रमुख भट्टराईले बताए ।
नगरउपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले कार्यक्रमले  नगरको सेवाबारे टोलसम्म जानकारी दिन सहयोग पुगेको बताईन । नगरपालिका कृषि शाखा प्रमुख भीम क्षेत्रीले टोलसम्म पुग्दा साना किसानका समस्याहरु प्रत्यक्ष हेर्न र समाधान गर्न सहयोग पुगेको बताए । पशु प्राविधक महादेब बनले टोलमा पुग्दा किसानहरुले आफ्ना समस्या निर्धक्कका साथ राख्ने  गरेको अनुभव सुनाए ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update