लुम्बिनी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहितको टोली चीन भ्रमणमा जान लागेको छ । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्रीसहित सात सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जान लागेको हो ।
चीन भ्रमण र छलफलको तालिका मंगलबार देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत ७ सदस्यीय टोली चीन जानेछ । भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन र द्विपक्षीय सहयोग एवं सहकार्यका बारेमासमेत उच्चस्तरीय भेटवार्तामा केन्द्रित हुने जनाइएको छ ।
लुम्बिनी प्रदेश सरकार र सिछुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने उद्देश्यले २०७६ सालमा भगिनी सम्बन्ध कायम भएको थियो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको हो ।