पाल्पा, सबै भन्दा महत्वपूर्ण क्षेत्र भनेकै स्वास्थ्य हो । तर विगतमा यही स्वास्थ्य क्षेत्र प्रदेश र केन्द्रीय सरकारको नजरमा सधै उपेक्षामा पर्दै आयो । सत्तामा पुग्ने राजनीतिक दलहरुको पनि सकभर स्वास्थ्य मन्त्रालय छनौटमा पर्न सकेन ।
बरु जहाँ धेरै बजेट चलाउन पाइन्छ, ति मन्त्रालहरु उनीहरुको रोजाई बन्न पुग्यो । जसले गर्दा स्वास्थ्य क्षेत्रमा कहिल्यै सुधार आउन सकेन । तर अहिले लुम्बिनी प्रदेशमा चेतनारायण आचार्यको नेतृत्वको सरकारमा रहेका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले भने स्वास्थ्य सेवामा थुप्रै सकारात्मक प्रयासहरु गरेका छन् । मन्त्री सारुले शपथ लिएलगत्तै स्वास्थ्य क्षेत्रलाई व्यापक सुधार गर्ने गरी सक्रिय रुपमा लागेका छन् । उनको सक्रियताले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारोन्मुख देखिएको छ ।
मन्त्री सारुले क्यान्सर, मुटुको भल्भ फेर्न र मृगौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई प्रदेश सरकारले दिने २ लाख सहयोग रकम सम्बन्धी जिल्ला स्वास्थ्य कार्यालयबाटै पाउने व्यवस्था गरेका छन् । यसले प्रदेश स्वास्थ्य मन्त्रालय धाउनु पर्ने बाध्यताको अन्त्य गरेको छ । यस्तै यस प्रदेशमा उच्च रहेको महिला, बालबालिका तथा किशोरीहरुमा कुपोषणको अवस्था सुधारका लागि कार्यविधि निर्माण, कुष्ठरोग र हात्तिपाइलेका कारण अपाड्ढता भएका नागरिकहरुप्रतिको भेदभाव अन्त्य तथा जिविकोपार्जन र आत्मनिर्भरता अभिवृद्धिका लागि स्वयं हेरचाह सम्वन्धी कार्यविधी स्वीकृत गरी कार्यान्वयनमा लगिएको छ ।
मन्त्री सारूले प्रदेशभरीका सरकारी अस्पताल र प्रयोगशालाहरूमा रक्त परीक्षण, एक्सरे र भिडियो एक्सरे लगायतका सेवामा लाग्ने शुल्क दरमा एकरुपता ल्याउने र बिस्तारै निजी क्षेत्रका स्वास्थ्य संस्थाले लिने परिक्षण शुल्कहरूमा समेत एउटै दररेट लागु गर्ने प्रयास गरेका छन् । उनले कार्यभार सम्हालेको एक सय दिनमा स्वास्थ्य क्षेत्रमा मुख्य १९ वटा काम सार्वजनिक गरेका छन् । मन्त्री सारुले सो अवधिमा ५५ वटा काम अगाडि सारे पनि मुख्य रुपमा १९ वटा काम उपलब्धिका रुपमा सार्वजनिक गरेका हुन् ।
उनले स्वास्थ्य बीमालाई प्रोत्साहित गर्न प्रदेशका १३ अस्पताल, १२ स्वास्थ्य कार्यालय र १३ आयुर्वेद स्वास्थ्य संस्थाहरूमा कार्यरत २ हजार ६४ जना कर्मचारी र परिवारका सदस्यहरूको स्वास्थ्य बीमा गराई अभियानको सुरुवात गरेका छन् । यस अवधिमा कोभिड १९ बाट मृत्यु भएका दाङका ५१ र पाल्पाको १५ परिवारलाई प्रति परिवार एक लाख सहयोग उपलब्ध गराइएको छ । सेवाग्राहीलाई सरकारी अस्पतालबाट छिटो छरितो गुणस्तरिय स्वास्थ्य सेवा सुनिश्चितताको लागि सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले निजी क्लिनिक तथा अस्पतालहरुमा निजी अभ्यासको क्रममा सरकारी कार्यालयको नाम र पदको प्रयोग गर्ने अवस्थाको अन्त्य गर्ने कार्यलाई कार्यान्वयनमा ल्याईएको र निजी अभ्यासको लागि पूर्व स्वीकृती लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको सार्वजनिक गरिएको उपलब्धिमा उल्लेख छ । बिरामीको अत्याधिक चाप हुने अस्पतालहरूमा डिजिटल प्रविधिबाट टिकट लिने, टोकन प्रणाली र बीमा काउन्टर सेवा सञ्चालन गरिएको छ । मातृ शिशु सम्बन्धी सुचांक न्यून रहेका जिल्ला अर्घाखाँची, कपिलवस्तु र रूपन्देहीका अस्पतालहरूमा सेवा सुदृढिकरणको प्रयास गरिएको छ । यस्तै भूगोलमा आधारित फरक खालका सिकलसेल एनिमिया बालेसिमियाको समस्या समाधान गर्न प्रदेश सरकारले विशेष ध्यान दिएको ।
प्रदेश राजधानीमा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन सुविधा सम्पन्न प्रादेशिक भालुवाङ अस्पताल, भालुवाङ सञ्चालनको लागि जनशक्ति पदपुर्ति गरि सेवा सञ्चालनको लागि प्रक्रिया अघि बढाइएको छ । प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको बाह्र सय शैयाको बाह्र तले भवन २०८५ साल पुष सम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ ।
‘पदमा रहेसम्म स्वास्थ्य क्षेत्रको सुधारमा लाग्छु’
स्वास्थ्य मन्त्री सारुले आफु पदमा रहेसम्म स्वास्थ्य क्षेत्रको सुधारमा लाग्ने बताएका छन् । उनले केही दिन अघि तानसेनमा सय दिने उपलब्धी सार्वजनिक गर्दै पदमा रहेसम्म स्वास्थ्य क्षेत्रको सुधारमा कटिवद्ध भएर लाग्ने बताएका हुन् । मन्त्री सारुले स्वास्थ्य क्षेत्रको पुराना संरचनालाई व्यवस्थित गर्ने र सेवालाई सहज बनाउन ध्यान केन्द्रित उल्लेख गरे ।
उनले अहिलेको राजनीतिक अस्थिरताका कारण नयाँ पूर्वाधार निर्माणमा भन्दा पनि भएरहेका पूर्वाधारहरूलाई व्यवस्थित गर्दै स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान केन्द्रित गरेको बताए । उनले सरकारी अस्पतालमा बेडको अभाव हटाउने, सहुलियत रूपमा औषधी वितरण हुनुपर्ने भएकाले आफू निरन्तर अनुगमनमा हिँडेको र केही सुधारका संकेत प्राप्त भएको बताए । मन्त्री सारुले स्वास्थ्य बीमामा देखिएको समस्यालाई पनि समाधान गर्ने गरि अघि बढेको दाबी गरे । नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश सरकार र मन्त्रालय सफल भएको मन्त्री सारुले बताए । ‘एक सय दिनको अवधिमा नीतिगत एवं कानूनी सुधार, शासकीय सुधार तथा सुशासन प्रवद्र्धन, विकास कार्यको व्यवस्थापन, वित्तीय क्षेत्र सुधार, सूचना प्रविधिको विकास र प्रयोग, जनगुनासो व्यवस्थापन जस्ता विषयका क्षेत्रलाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गरेका छौं ’उनले भने ।
कार्यक्रममा संघीय सांसदहरु ठाकुर गैरे, नारायण आचार्य, प्रदेश सांसदहरु राजु श्रेष्ठ, इन्द्र गहतराज, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार लगायतले मन्त्री सारुले छोटो समयमा गरेका उपलब्धिहरु प्रशंसनिय रहेको भन्दै कार्यान्वयनमा जोड आग्रह गरे । मन्त्री सारुको अध्यक्षता, उनका स्वकीय सचिव सुदर्शन पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।