छठ पनि एक महत्वपूर्ण चार्ड हो । यो विशेष गरी तराई क्षेत्रमा मनाईने प्रमुख पर्व हो । यो पर्व नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएलगत्तै सुरू हुने गर्दछ । विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । आजभोलि यसको व्यापकता बढ्दै स्वदेशमा मात्र होइन, सात समुद्रपारि पनि मनाउन थालिएको छ । जताततै छठको रौनक छ । अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ । छठ महत्व अनेक छन् । सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । छठ पर्वले सांस्कृतिक रूपमा विशिष्ट स्थान ओगटेको छ । संस्कृति मानवीय जीवनपद्धति हो । मान्छेले धारण गर्ने वस्त्र हो । उसको खानपान हो । अर्थात् मानव जीवनको सबथोक हो । कृषि उत्पादन, सामाजिक रहनसहन र सभ्यताका पक्षलाई एकैसाथ छठले प्रतिविम्बित गर्ने गर्दछ । कृषिउपजलाई प्रसादका रूपमा स्वीकार गरेको छ । झन्डै ७२ प्रकारका कृषिउपजको छठ पूजामा प्रयोग गरिन्छ । यसले हराउँदै गएको नेपालको कृषि उत्पादनको पहिचानलाई पुनरावृत्ति गराउँछ । यो पर्व नियम निष्ठा एवं पवित्रताका साथ मनाउने पर्वको रुपमा रहेको छ । यो खासगरी राखिएका भाकल पूरा भएपछि मात्र गर्ने गरिन्छ ।
एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्ने गरिन्छ । हरेक पर्वको आफ्नै मौलिक संस्कृति र इतिहास रहेको हुन्छ । छठ पर्वसँगै हरेक पर्वहरुलाई निरन्तरता दिनु र त्यसको संरक्षण गर्नु नै अहिलेको आवश्यकता हो । जुनसुकै पर्वले नेपाली–नेपालीहरुमाझ नै आत्मीयता, सद्भाव र सहिष्णुताको विकास गरेको हुन्छ । त्यसैले छठ पर्वलाई सोही अनुसार मनाउन सके यसको महत्व अझ बढेर जाने छ ।